सोमबार, १ जुन, २०२६
06:55 | ११:४०

बेलायतको रेडिङमा पहिलोपटक टेन के रन, दौडिए तीनसय नेपाली

नेपाली लिङ्क जुन १, २०२६

लन्डन– बेलायतको रेडिङ शहरमा पहिलोपटक ‘रेडिङ नेपाली रनर्स १० के दौड’ भएको छ ।

३१ मे आइतबार डिन्टन पास्चर्स कन्ट्री पार्कमा नेपाल रन यूकेको सहयोग र रेडिङ नेपाली रनर्स समूहको आयोजनामा दौड भएको हो ।

स्थानीय अशोक चापागाईं र सुशान्त चुँडालले दौड प्रवन्ध गर्न प्रमुख भूमिका निर्वाह गरेका थिए ।

उक्त दौडमा झण्डै तीनसय धावक सहभागी थिए । दौडमा बेलायतका लन्डन, डार्टफोर्ड, बेक्सली, अल्डरसट, बेजिङस्टोक, स्कटल्याण्डबाट समेत धावकहरू सहभागी भएका थिए । दौड प्रतियोगितामा खुला पुरुष क्याटेगोरीतर्फ लककुमार आङ्थुपो ३९ः१३ मिनेटमा दुरी गरि वीनर बने भने नारायण पन्त (३९ः२६ मिनेट) द्धितिय र नारायण कटुवाल (३९ः५६ मिनेट) तृतीय भए ।

त्यसैगरि खुला महिला क्याटेगोरीमा हाप्र्स हंसरा प्रथम भइन् । उनले ४१ः४२ मिनेटमा दौड पार गरेकी थिइन् भने सावित्री कुँवर (५२ः४० मिनेट) द्धितिय र साबी पुन (५३ः४३ मिनेट) तृतीय भए ।

४०–४९ उमेर समूहको भेट्रान पुरुष क्याटेगोरीमा रुद्र लिम्बु (४२ः०४ मिनेट) प्रथम भए । ४०–४९ उमेर समूह अन्तर्गत भेट्रान महिला वर्गीकरणमा मनिषा लिम्बु (५४ः४४ मिनेट) ले पहिलो स्थान सुरक्षित गरिन् ।

५०–५९ उमेर समूह अन्तर्गत पुरुषतर्फ लक्ष्मण गुरुङ (४०ः३१ मिनेट) प्रथम र यही क्याटेगोरीमा महिलातर्फ हिलारी रेनी (५६ः५५ मिनेट) वीनर बनिन् ।

६० माथिको उमेर समूहमा पुरुषतर्फ तिलविक्रम सम्बाहाम्फे (४४ः२१ मिनेट) प्रथम र महिलातर्फ रुक्मिणी थापा (१ः०९ः३६ घण्टा) प्रथम भइन् ।

क्लबमा सबैभन्दा सुधार गर्ने धावकका रुपमा बाबुराम बाँस्तोला र जानुका सिटौलाले उपाधि जिते ।

विजेता धावकहरुलाई प्रमुख अतिथी बेलायतका लागि नेपाली कार्यवाहक राजदुत विपिन दुवाडी, नेपाल रन यूकेका संस्थापक सन्तोष राई, प्रायोजकद्धय बुद्ध मोर्गेजका निर्देशक किशोर राना र एइएसएन रिक्रुटमेन्ट सोलुसन्सका सन्जिव घिमिरे, नेपाल रनका आत्माराम दाहाल, आयोजक रेडिङ नेपाली रनर्सका अशोक चापागाईं र सुशान्त चुँडाल, एनआरएनए यूके अध्यक्ष राजेन्द्र पुडासैनी लगायतले पुरस्कार प्रदान गरे ।

हौसला प्रदान गर्न पुगेका कार्यवाहक राजदूत दुवाडीले दौड शुरु हुनु अघि शुभकामना मन्तव्य दिंदै रेडिङस्थित नेपाली समुदाय आफ्नो मात्र नभई अरुको पनि स्वास्थ्य र कल्याणका लागि समर्पित रहेको बताए ।

प्रमुख अतिथी दुवाडीले यस्ता गतिविधि निरन्तर गर्न सुझाव दिंदै यसले बेलायतका अन्य नेपालीलाई समेत दौड आयोजना गर्न प्रेरणा मिल्ने बताए ।

रेडिङस्थित नेपाली समुदायमाझ फुटबल प्रतियोगिता र अन्य खेल गतिविधि निरन्तर हुने गरेपनि व्यवसायिक रुपमै टेन के रन यसअघि कहिल्यै भएको थिएन ।

रेडिङका नेपालीहरु समेत अहिले दौडप्रति आकर्षित भइरहेका बेला पहिलोपटक दौड आयोजना गर्नुको खास उद्देश्य स्वास्थ्य जागरूकता बढाउनुका साथै स्थानीय समुदायहरूलाई एकसाथ ल्याउनु रहेको आयोजकमध्ये एक अशोक चापागाईंले जनाए ।

नेपाल रन यूकेका संस्थापक सन्तोष राई र सुशान्त चुँडालले दौड नियमबारे धावकहरुलाई जानकारी दिएका थिए । पुरस्कार वितरण समारोह सन्तोष राईले सञ्चालन गरेका थिए ।

   

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू