बिहीबार, ४ जुन, २०२६
22:58 | ०३:४३

अमेरिका र इरानबीच जारी कूटनीतिक वार्तामा गम्भीर गतिरोध

रासस/एएनआई जुन ४, २०२६

वासिङ्टन, जेठ २१ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनामाथि आक्रमणमा ज्यान गुमे इरानसँग कायम रहेको युद्धविराम अन्त्य गर्ने विषयमा विचार गर्न सक्ने सङ्केत गरेका छन् । सरकारी अधिकारीहरूका अनुसार उनले तेहरानलाई यस्तो घटनाको जिम्मेवार ठहरिएमा कूटनीतिक तथा सैन्य नीति पुनः समीक्षा हुन सक्ने स्पष्ट पारेका हुन् ।

अधिकारीका अनुसार राष्ट्रपति ट्रम्पले यस क्षेत्रका ‘हिंसात्मक झडप’ र लगातार बढ्दो तनावका बाबजुद हवाई आक्रमणमा लागू गरिएको ‘हप्तौँ लामो विराम’ हाल कायम रहेको पुष्टि गरेका छन् । यसले तत्काल ठूलो स्तरको सैन्य कारबाहीतर्फ जान नचाहने तर परिस्थितिअनुसार निर्णय परिवर्तन हुन सक्ने सङ्केत दिएको बताइएको छ ।

समाचार स्रोतका अनुसार राष्ट्रपतिको यो अडानले इरानसँग प्रत्यक्ष ठूलो सैन्य द्वन्द्वमा पुनः प्रवेश गर्न अनिच्छा देखाए पनि साना स्तरका भड्काउ घटना केही समय सहन सकिने नीति अपनाउन सकिने सङ्केत गरेको छ । यसले पश्चिम एसियामा ठूलो युद्धको जोखिम कम गर्नेतर्फ वासिङ्टन केन्द्रित रहेको विश्लेषण गरिएको छ ।

यसैबीच, संयुक्त राज्य अमेरिका र इरानबीच जारी कूटनीतिक वार्तामा गम्भीर गतिरोध देखिएको छ । तेहरानले सुरुमै रोक्का गरिएको अर्बौं डलर सम्पत्ति फुकुवा गर्नुपर्ने अडान राखेपछि वार्ता प्रभावित भएको बताइएको छ ।

विभिन्न अन्तर्राष्ट्रिय मिडिया रिपोर्ट अनुसार इरानले सम्झौताको प्रारम्भिक चरणमै वित्तीय सम्पत्ति फुकुवा गर्नुपर्ने माग दोहो¥याएको छ, जसलाई वासिङ्टनले अस्वीकार गरेको छ ।

कूटनीतिक प्रयासलाई अगाडि बढाउन पछिल्लो समय तीव्ररूपमा ब्याक–च्यानल वार्ता भए पनि ठोस प्रगति हुन सकेको छैन । मध्यस्थकर्ताले विवाद समाधानका लागि विभिन्न प्रस्ताव अघि सारे पनि दुवै पक्षले आफ्ना अडान नछाड्दा सहमति टाढिँदै गएको स्रोतले जनाएका छन् । अमेरिकी अधिकारीहरूले स्पष्टरूपमा इरानसँग प्रारम्भिक चरणमै वित्तीय रियायत नदिने अडान लिएका छन् ।

उनीहरूका अनुसार आणविक कार्यक्रम र क्षेत्रीय सुरक्षा विषयमा ठोस प्रगति नभएसम्म कुनै पनि कोष फुकुवा गर्न सकिँदैन । यद्यपि राष्ट्रपति ट्रम्पले इरानसँगको वार्ता सकारात्मक दिशामा अघि बढिरहेको दाबी गरेका छन् । उनले सम्झौता अनिश्चित भए पनि संवाद जारी रहेको र केही विषयमा प्रगति हुन सक्ने सम्भावना रहेको बताएका छन् । ह्वाइट हाउसमा बोल्दै ट्रम्पले इरानसँगको छलफल ‘धेरै राम्रो’ भएको टिप्पणी गरेका थिए ।

साथै उनले कुनै पनि सम्झौता निश्चित नभएको उल्लेख गर्दै ‘केही पनि हुन सक्छ’ भन्ने धारणा राखेका छन् । उनले इरानसँगको वार्ताबारे प्रतिक्रिया दिँदै परिस्थिति अनुसार सम्झौता छिट्टै हुन पनि सक्ने वा नहुन पनि सक्ने अवस्था रहेको जानकारी दिए । साथै उनले इरानसँग व्यवहार गर्दा परिस्थिति अनपेक्षितरूपमा परिवर्तन हुन सक्ने बताए ।

यसै क्रममा सामुद्रिक सुरक्षा विषयमा पनि छलफल भएको उल्लेख गर्दै ट्रम्पले हर्मुज जलमार्ग पुनः पूर्णरूपमा सञ्चालनमा आउने विश्वास व्यक्त गरेका छन् । उनले इरानसँगको समझदारीपछि रणनीतिक जलमार्ग छिट्टै खुल्ने दाबी गरे । इरानको संवर्धित युरेनियम भण्डारबारे प्रतिक्रिया दिँदै उनले त्यसको व्यवस्थापनका लागि अमेरिका र चीनसँग मात्र आवश्यक क्षमता रहेको दाबी गरे । ट्रम्पले उक्त सामग्री सुरक्षितरूपमा नियन्त्रणमा लिन चाहेको स्पष्ट पारे ।

यसैबीच अमेरिकी प्रतिनिधिसभाले इरानसँगको सैन्य कारबाही सीमित गर्ने उद्देश्यले डेमोक्रेट नेतृत्वको प्रस्ताव पारित गरेको छ । २१५–२०८ मतले पारित उक्त प्रस्तावले राष्ट्रपतिको सैन्य अधिकारलाई केही हदसम्म नियन्त्रण गर्ने उद्देश्य राखेको बताइएको छ । रिपब्लिकन सांसद मध्ये केहीले पक्षमा मतदान गरेपछि उक्त प्रस्ताव पारित भएको हो ।

यसलाई ट्रम्प प्रशासनको मध्यपूर्व नीति र युद्ध व्यवस्थापनप्रति संसद्भित्र बढ्दो बहसको सङ्केतका रूपमा हेरिएको छ । विश्लेषकका अनुसार यस घटनाक्रमले वासिङ्टन र तेहरानबीचको सम्बन्ध अझै जटिल र संवेदनशील अवस्थामा रहेको देखाएको छ, जहाँ कूटनीति र सम्भावित सैन्य तनाव दुवै समानान्तररूपमा अगाडि बढिरहेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू