शनिबार, वैशाख ८, २०८१
22:20 | ०३:०५

चीनले अन्य देशलाई दुई अर्ब डोज खोप सहयोग गर्ने

रासस- सिन्ह्वा अगस्ट ६, २०२१

बेइजिङ ।चीनले यसै वर्षभित्रमा विश्वका विभिन्न देशलाई कम्तीमा पनि दुई अर्ब डोज कोरोनाविरुद्धको खोप सहयोग दिने भएको छ ।

त्यसैगरी चीनले यसै वर्षको अन्तिमसम्ममा एक करोड अमेरिकी डलर सहयोग कोभ्याक्स कार्यक्रममा गर्ने पनि बताएको छ । 

चीनका राष्ट्रपति सि जिनपिङले यसै वर्षको अन्त्यसम्ममा चीनले विश्वका खाँचो परेका देशहरुलाई कम्तीमा पनि दुई अर्ब डोज खोप दिने घोषणा गरेका हुन् । 

राष्ट्रपति जिनपिङले आगामी दिनमा कोभिडविरुद्धको खोपको खाँचो हुने धेरै देश हुने भएकाले ती देशलाई यो खोप उपलब्ध गराउने बताए  । कोभिड–१९ को अप्रेसन फोरमको बिहीबारको बैठकमा उनले यो सन्देश पठाएका थिए ।

राष्ट्रपति जिनपिङले कोभ्याक्सअन्तर्गत दिइएको एक करोड अमेरिकी डलर बराबरको आर्थिक सहयोगबाट किनिएको खोप विश्वका विकासशील देशहरुका लागि उपलब्ध गराइने जानकारी पनि गराएका छन् । उनले कोभिड–१९ का विरुद्धमा विश्व समुदायलाई एकत्रित गर्ने काममा चीनले भूमिका निर्वाह गर्ने पनि जानकारी दिएका छन् । 

राष्ट्रपति जिनपिङले  विश्व यो महामारीबाट आक्रान्त भएकाले यसका विरुद्धमा विश्व नै एक भएर लड्नुपर्ने भन्दै चीन महामारी विरुद्ध विश्व समुदायलाई एकै स्थानबाट लड्ने वातावरण सिर्जना गर्ने काममा लागेको पनि बताएका छन् । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू