शुक्रबार, वैशाख १४, २०८१
16:51 | २१:३६

दूतावास पुगे गेसो र बिजिडब्लुएस पदाधिकारी, वार्तामा आएन सत्याग्रह

नेपाली लिङ्क अगस्ट ३, २०२१

लन्डन– हाल भइरहेको गोर्खा आन्दोलनबारे छलफल गर्न  गेसो र बिजिडब्लुएस पदाधिकारी दूतावास पुगेका छन् ।

ति दुई संस्थाका पदाधिकारीले नेपाल सरकारको धारणा बुझ्न र पछिल्लो समय गोर्खाहरुको गतिबिधिबारे छलफल गर्न नेपाली दूतावास गएको जनाएका छन् ।  

राजदूत लोकदर्शन रेग्मीले सबै गोर्खा संघसंस्थालाई संयुक्त छलफलमा बोलाएपनि रिले अनसन बसिरहेको सत्याग्रह समिति वार्तामा सहभागी भएन । सो समूहले राजदूतलाई छुट्टै भेट्ने बताइएको छ । 

राजदूतसँग भेटेपछि बिजिडब्लुएस अध्यक्ष मे. (रि) टिकेन्द्रदल देवान जेपी र गेसोका कार्यवहाक सभापति धर्म तामाङले आइतबार एक संयुक्त विज्ञप्ति जारी गर्दै अनशन समस्याको समाधान नभएकाले नेपाल सरकारलाई सक्रिय भूमिका खेलिदिन अव्हान गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ-‘भोक हडताल समस्याको समाधान होइन । दुई देशबीचको कूटनीतिक पहलबाट नै अन्तिम लक्ष्यमा पुग्न सकिनेमा हामी एक मत भएका छौं । नेपाल सरकारको तर्फबाट राजदूतले गर्दै गरेको पहल स्वागतयोग्य छ ।’

ब्रिटिश गोर्खा वेलफेयर सोसाइटी (बिजिडब्लुएस) र गोरखा भूतपूर्व सैनिक संघ (गेसो) का अगुवासँग राजदूतले सत्याग्रह टोलीलाई आमरण अनशन नबसिदिन नेपाल सरकारको तर्फबाट गत जुलाई १९ तारिख भएको संयुक्त बैठकमा अनुरोध गरेको जनाएका थिए ।  

राजदूतले नेपाल सरकार परराष्ट्र मन्त्रालयले वार्ताका लागि पहल भइरहेको र आमरण अनशन नबस्न सत्याग्रह टोलीलाई अनुरोधसहित लेखेको पत्र पढेर सुनाएका थिए । 

पत्रमा नेपाल सरकार र भूतपूर्व गोर्खा सैनिकका प्रतिनिधिहरुबीच एकमत रहिआएको, नेपाल सरकारको तर्फबाट वार्ताका लागि अविछिन्न प्रयत्न हुँदै आएको र भविष्यमा पनि यसलाई निरन्तरता दिइने उल्लेख छ । 

ब्रिटिश सरकार पनि वार्ताको विषयमा नेपालका लागि बेलायती राजदूतावासमार्फत परराष्ट्र मन्त्रालयसँग सम्पर्कमा रहेको जानकारी राजदूत रेग्मीले दिएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू