मंगलबार, असोज ५, २०७८
15:13 | १९:५८

राष्ट्रसंघीय महासचिवद्वारा अफगानिस्तान हमलाको निन्दा

रासस/सिन्ह्वा जुलाइ ३१, २०२१

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस

संयुक्त राष्ट्रसंघ, १६ साउन–संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले अफगानिस्तानको हेरातमा भएको हमलाको निन्दा गरेका छन् ।

उनले हालै अफगानिस्तानको हेरातमा संयुक्त राष्ट्रसंघीय कर्मचारीमाथि भएको हमलाको कडा शब्दमा निन्दा गर्नुका साथै सो हमलामा परी ज्यान गुमाउने सुरक्षाकर्मीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

साथै त्यस हमलामा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । उनले संयुक्त राष्ट्रसंघको कार्यालय र यसका कर्मचारीप्रतिको आक्रमण अन्तरराष्ट्रिय कानूनबमोजिम पनि निषेधित रहेको भन्दै यस्ता कार्यमा संलग्नलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने बताए ।

उनका सहायक प्रवक्ता फराह हकले प्रकाशन गरेको विज्ञिप्तमा यस्ता जघन्या हिंसा गर्ने व्यक्तिलाई कडाभन्दा कडा कारबाही गर्नुपर्नेमा जोड दिइएको छ ।

साथै उनले संयुक्त राष्ट्रसंघ सधैं अफगानिस्तानको सरकार र यहाँका नागरिकको पक्षमा रहेको बताएका छन् । अफगानिस्तानमा शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसंघले पनि विगत लामो समयदेखि प्रयास जारी राखेको उनले विज्ञप्तिमार्फत जनाएका छन् ।

नागरिकको शान्ति स्थापनाको चाहनाका लागि काम गर्ने संस्थामाथि भएको यस प्रकारको हिंसात्मक हमला कदापि क्षम्य नहुने विज्ञप्तिमा बताइएको छ ।

पछिल्ला केही दिनमा अफगानिस्तानमा यस्ता हिंसात्मक हमलाका घटनामा वृद्धि भएको र अफगानिस्तानका सरकारी अधिकारी तथा सुरक्षाकर्मीमाथि पनि तालिबानले हमला गर्ने गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू