बुधबार, वैशाख १२, २०८१
04:04 | ०८:४९

ट्यूनिसियामा राष्ट्रपतिद्वारा संसद निलम्बन, समर्थन र विरोधमा प्रदर्शन-झडप

रासस/एएफपी जुलाइ २६, २०२१

राष्ट्रपतिको कदमपछि खुशीयाली मनाउंदै जनता । तस्बिर एएफपी

ट्यूनिस, ११ साउन–ट्युनिसियामा राष्ट्रपतिले निर्वाचित प्रधानमन्त्रीलाई अपदस्थ गरी सत्ता आफ्नो हातमा लिएसँगै समर्थन र विरोधमा ठाउँठाउँमा प्रदर्शनहरू भएका छन् । दुई समूहबीच भएका झडपहरूमा सयौँ मानिस घाइते भएका बताइएको छ ।

राष्ट्रपति काइस साइदले आइतबार प्रधानमन्त्री हिसेम मेशीशीलाई हटाई नयाँ प्रधानमन्त्रीको सहयोगमा नेतृत्व आफूले लिने बताएका थिए । यहाँको सबैभन्दा ठूलो दल एन्नाहधाले राष्ट्रपतिको कदमलाई ‘कू’ को सज्ञा दिएको छ ।

प्रधानमन्त्री मेशीशीलाई हटाई संसद निलम्बन गरेसँगै उनको समर्थनमा हजारौँ मानिस सडकमा ओर्लिएका थिए । सोमबार राष्ट्रपतिले चालेको ‘अप्रजातान्त्रिक’ कदमको विरोधमा एन्नाहधा लगायतका दलले आफ्ना कार्यकर्तालाई राष्ट्रपतिको विरोधमा उत्रिन आह्वान गरेका छन् ।

कोभिड–१९ को महामारी नियन्त्रणमा सरकारले अपेक्षाकृत भूमिका खेल्न नसकेको भन्दै ट्यूनिशियाली नागरिकले सुशासनका लागि आन्दोलन गर्दै आएका थिए । पछिल्ला दिनहरूमा प्रदर्शनकारी र प्रहरीबीच झडपहरू भएपछि राष्ट्रपतिले संसद् निलम्बन गरेका हुन् ।

“ट्यूनिशियामा सामाजिक शान्ति पुनर्बहाल नभएसम्म र हामी राष्ट्रलाई सुरक्षित नतुल्याएसम्मका लागि राजनीतिक नेतृत्व नयाँ प्रधानमन्त्रीको सहयोगमा हामीमा निहीत रहनेछ,” साईदले टेलिभिजनमार्फत् गरेको सम्बोधनका क्रममा भनेका छन् ।

राष्ट्रपति कार्यालयमा आपत्कालीन सुरक्षा बैठक गरेपछि टेलिभिजनमार्फत् देशबासीका नाममा सम्बोधन गरेका हुन् ।

घोषणासँगै ट्यूनिससहित अन्य थुप्रै सहरमा झडप भएका छन् । त्यस क्रममा प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै थुप्रै प्रदर्शनकारीलाई गिरफ्तार गरेको छ । राष्ट्रपति साईदले थप हिंसाहरू भए त्यसलाई नियन्त्रणमा लिन सेनाको प्रयोग गरिने चेतावनी दिएका छन् ।

“म चेतावनी दिन चाहन्छु कि जोसुकैले पनि यदि अस्त्र उठाउनेबारे साचेमा र जोसुकैले पनि गोली चलाउँछ भने सशस्त्र फौजहरूले गोलीको जबाफ गोलीमार्फत् दिनेछन्,” उनले भने ।

संसद्माथि ‘सम्भावित खतरा’ छ भने त्यसलाई निलम्बन गर्ने अधिकार संविधानले आफूलाई प्रदान गरेको राष्ट्रपतिको दाबी छ । तर निलम्बनमा परेको संसद्का सभामुख राशिद गनुशीले ट्यूनिशियाको ‘क्रान्ति र संविधानमाथि कू गरिएको’ प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू