शनिबार, वैशाख १५, २०८१
22:19 | ०३:०४

दक्षिण अफ्रिकामा हिंसात्मक प्रदर्शनपछि सेना परिचालन

रासस/एएफपी जुलाइ १३, २०२१


केप टाउन, दक्षिण अफ्रिका, २९ असार–दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जेकोब जुमा जेल परेपछि करिब एक सातादेखि भइरहेका हिंसात्मक प्रदर्शनहरूलाई रोक्न सरकारले सेना परिचालन गरेको छ ।

राष्ट्रपति सिरिल रामाफोसाले आम नागरिकलाई ‘हिंसाविरुद्ध उभिन’ आह्वान गरेका छन् । उनले हिंसाबाट टाढा रहन र देशलाई अस्थिर बनाउन चाहनेविरुद्ध दृढ रूपमा उभिन सर्वसाधारणहरूलाई आग्रह गरे ।

जुमाले प्रहरी समक्ष गत हप्ता आत्मसमर्पण गरे पनि उनको समर्थनमा भएका प्रदर्शनहरूमा कम्तीमा छ जनाको मृत्यु भएको छ भने ५०० भन्दा बढी पक्राउ परेका छन् ।

जुमालाई जुन २९ तारिखमा आफ्नो नौ वर्षे कार्यकालका बेला भएको भ्रष्टाचारसम्बन्धी सुनुवाइका क्रममा सबुत पेस गर्न दिइएको आदेश नमानेको आरोपमा १५ महिना लामो जेल सजाय सुनाइएको हो ।

भ्रष्टाचारको आरोप अस्वीकार गर्दै आएका ७९ वर्षका जुमाबाहेक दक्षिण अफ्रिकी कुनै पनि पूर्व राष्ट्रपतिलाई सजायँ सुनाइएको थिएन ।

प्रहरीका अनुसार प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडपका घटनाहरू भइरहँदा शहरहरूका केही भवनहरू आगजनी भएको छ भने पसलहरू लुटिएका छन् ।

सरकारले खावटेयाङ राज्य र जुमाको गृह राज्य क्वाजुलु नटालमा सुरक्षा फौज परिचालन गरिएको छ ।

संवैधानिक अदालतले आफ्नो सजाय फिर्ता लिने वा कम गरिदिने अपेक्षा जुमाले गरेका उनका निकटस्थ स्रोतहरूले बताएका छन् । कानुनविद्हरूले जेल सजायँ माफी वा कम गर्ने सम्भावना भने नरहेको बताइरहेका छन् ।

जुमालाई जुन २९ तारिखमा आफ्नो नौ वर्षे कार्यकालका बेला भएको भ्रष्टाचारसम्बन्धी सुनुवाइका क्रममा सबुत पेस गर्न दिइएको आदेश नमानेको आरोपमा १५ महिना लामो जेल सजाय सुनाइएको हो ।

जुमाको नेतृत्वका बेला निर्णय लिने प्रक्रिया प्रभावित पार्नका लागि राजनीतिज्ञहरूसँग साठगाँठ गरेको व्यापारीहरूमाथि आरोप लगाइएको छ ।

सन् २०१८ मा सेनाको सहयोगमा उनको दलसहित त्यहाँका राजनीतिक दलहरूले उनलाई पदच्युत गर्न सफल भएपनि उनको पक्षमा अहिलेपनि ठूलो समूह छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू