फोनिज यूके पत्रकारिता सम्मान र पुरस्कार गाहा र थामीलाई


लण्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूकेले ‘फोनिज यूके पत्रकारिता सम्मान तथा पुरस्कार २०२०’ क्रमश: पत्रकारहरु सन्त गाहा मगर र टेकबहादुर थामीलाई प्रदान गर्ने निर्णय गरेको छ ।
फोनिज यूके अध्यक्ष प्रमिला लावुङ राईको अध्यक्षतामा गत ४ जुलाईमा भर्चुअल रुपमा सम्पन्न बैठकले पत्रकारद्वयलाई सम्मान एवम् पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
सम्मान एवम् पुरस्कारको राशी २५/ २५ हजार रुपैयाँ र ताम्रपत्र छ ।
फोनिज यूकेले संस्थाका प्रमुख सल्लाहकार सोनाम छिरिङ शेर्पाको प्रमुख संयोजकत्वमा गठन गरेको पाँच जनाको पत्रकारिता सम्मान छनोट समितिले फोनिज केन्द्र ( नेपाल) ले सिफारिश गरेको ५ जना पत्रकारमध्ये वरिष्ठताका आधारमा सन्त गाहा मगरलाई सम्मान र टेकराज थामीलाई पुरस्कारको निम्ति छनौट गरिएको हो ।
सन्त गाहा मगर नवलपरासी कावासोती नगरपालिका वडा नम्बर १ मा जन्म भइ हाल काठमाडौँमा बसोबासरत छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट ‘मास कम्युनिकेसन’ मा स्नातकोत्तर गरेका छन् भने हिमाल खबरपत्रिका, हिमाल खबर डटकम, अनलाईन खबर डटकममा समाचारदाता र सेन्टर फर इन्भेष्टिगेटिभ जर्नालिजममा प्रशिक्षकसमेत छन् । त्यसैगरी, उनले गोर्खा एफएम, मेट्रो एफएम र रेडियो लुम्बिनीमा पनि प्रोग्राम प्रोड्युसर र प्रिजेन्टरको रुपमा काम गरिसकेका छन् ।
पुरस्कार प्राप्त गर्ने टेकराज थामी दोलखा बाबरे वडा नम्बर ४ घर भइ हाल काठमाडौँ बसोबास गर्दै छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट ‘मास कम्युनिकेसन’ मा मास्टर डिग्री गरेका छन् । हाल नयाँपत्रिका राष्ट्रिय दैनिकमा क्राइम रिपोर्टर रहेका उनी गोरखापत्र दैनिकमा थामी भाषाको संयोजक समेत रहिसकेका छन् ।
त्यस्तै, उनले राज्यक्रान्ति साप्ताहिक, सशक्तिकरण न्यूज, संघात्मक मासिकमा समेत समाचारदाताको रुपमा काम गरेका थिए । थामीसँग एबीसी टेलिभिजन र सगरमाथा टेलिभिजनमा पनि प्रोग्राम पोड्यूसर र समाचारदाताको रुपमा काम गरेको अनुभव छ । मातृभाषा पत्रकारितामा पनि राम्रो दख्खल राख्ने उनी थामी भाषा उत्थानको लागि विभिन्न रेडियोमा कार्यक्रम प्रस्तुत गर्छन् ।
फोनिज यूकेले यसअघि सन् २०१६ को ‘फोनिज यूके पत्रकारिता सम्मान’ पत्रकार गोपाल छाङ्छा राई र ‘फोनिज यूके पत्रकारिता पुरस्कार’ रामविकास चौधरीलाई प्रदान गरेको थियो ।
त्यसैगरी सन् २०१७ को ‘फोनिज यूके पत्रकारिता सम्मान’ पत्रकार गणेशमान गुरुङ र ‘फोनिज यूके पत्रकारिता पुरस्कार’ मिलन लिम्बुलाई प्रदान गरिएको थियो भने ‘फोनिज यूके पत्रकारिता सम्मान–२०१८’ पत्रकार राजेश चाम्लिङ राई र फोनिज यूके पत्रकारिता सम्मान सन् २०१९ पत्रकार शान्ति गुरुङलाई गरिसकेको छ ।
सन् २०२० को पत्रकारिता सम्मान तथा पुरस्कार यही असार अन्तिम साता काठमाडौंमा प्रदान गरिनेछ ।