शनिबार, वैशाख ८, २०८१
05:10 | ०९:५५

अमेरिकी सेना बाहिरिंदै गर्दा तालिबान समूहले नियन्त्रणमा लियो कन्दहार

रासस–एएफपी जुलाइ ४, २०२१

अफगानी सेना तालिबानविरुद्ध कारवाहीका लागि परिचालित हुंदै । फाइल तस्बिर सिन्हवा

कन्दहार, अफगानिस्तान, २० असार – अफगानिस्तानको प्रमुख विद्रोही तालिबान समूहले रातभरको संघर्ष पश्चात् कन्दहार जिल्लालाई आफ्नो नियन्त्रणमा लिएको छ ।

अमेरिकी सेनाले यही जुलाई महिनाभित्रै अफगानिस्तान छाड्ने तयारी गरेसँगै तालिबान समूहले अफगानी सरकारी सेनाविरुद्ध आक्रामक कारबाहीलाई तीब्र बनाएको छ । कन्दहारलाई तालिबानी समूहले आफ्नो प्रमुख गढको रुपमा लिने गर्दछन् ।

गत मे महिनादेखि नै अफगानिस्तानका ग्रामीण क्षेत्रहरुलाई तालिबान समूहले आफ्नो नियन्त्रणमा ल्याउने अभियान सफलतापूर्वक सञ्चालन गरिरहेका छन् ।

काबुल नजिकैको बघराम हवाई मैदान अमेरिकी र नेटो सैनिकले खाली गरेको दुई दिनभित्रै कन्दहार प्रान्तको दक्षिणी पन्जवाई जिल्लालाई तालिबानीहरुले नियन्त्रणमा लिएका छन् । बघराम हवाई मैदानबाट अमेरिकी सेनाले तालिबान र अल–कायदा विरुद्ध दुई दशक हवाई आक्रमण गर्ने गरेको थियो ।

विगत केही वर्षदेखि तालिबान र अफगान सैनिकबीच पन्जवाई जिल्लालाई नियन्त्रणमा लिन पटक पटक संघर्ष हुँदै आएको छ । कन्दहार प्रान्तलाई तालिबान समूहले आफ्नो जन्मभूमिका रुपमा लिने गरेको छ ।

पञ्जवाई जिल्लाका गभर्नर हास्ती मोहम्मदले तालिबान समूह र अफगान सेनाबीच रातभर गोली हानाहान भएको र बिहान अफगान सेनाले जिल्ला छाडेको जानकारी दिए । उनले तालिबान समूहले जिल्ला प्रहरी मुख्यालय र गभर्नरको कार्यालयलाई कब्जामा लिएको बताए ।

कन्दहारका प्रान्तीय परिषदका प्रमुख सईद जान खाक्रीवालले पनि पञ्जवाई जिल्ला तालिवानको नियन्त्रणमा गएको पुष्टि गर्दै सरकारी फौजले जानाजान जिल्ला छाडेको आरोप लगाए ।

हालैका साताहरुमा अफगानिस्तानका धेरै प्रान्तमा संघर्ष भइरहेका छन् र देशका ४०० मध्ये १०० भन्दा बढी जिल्ला आफ्नो नियन्त्रणमा लिइसकेको तालिवानले दाबी गरेको छ ।

बघराम हवाई मैदान खाली गरेसँगै तालिबान समूहले नयाँ क्षेत्रहरु आफ्नो नियन्त्रणमा लिन थप संघर्ष गर्ने अनुमान गरिएको छ ।
सरकारी फौजले बघराम हवाई मैदानलाई आतंकवाद विरुद्ध लड्न प्रयोगमा ल्याइने बताएको छ । आफूहरुले विमानस्थलको राडार प्रणालीलाई पुनः सञ्चालनमा ल्याइसकेको सेनाले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू