मंगलबार, चैत ६, २०८०
06:03 | ११:४८

अमेरिकी र रुसी राष्ट्रपतिबीच लामो भेटवार्ता, आ–आफ्ना अडान कायमै

रासस/एपी जुन १७, २०२१

वाशिङ्टन, ३ असार– विश्वका शक्तिशाली दुई देशका प्रमुखहरूबीच लामो भेटवार्ता भएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच जेनेभामा झण्डै तीन घण्टा भेटवार्ता भएको हो ।

दुई देशका राष्ट्रप्रमुखहरूबीच भौतिक उपस्थितिमा सन् २०१८ पछि पहिलो पटक भएकाले पनि उनीहरुको अहिलेको भेटवार्तालाई धेरै महत्वका साथ हेरिएको छ ।

वार्ताका लागि तीन घण्टाभन्दा बढी समय छुट्याइएपनि बाइडेनले आफूलाई थप समय नचाहिएको बताएपछि तीन घण्टामा बैठक सकिएको थियो ।

बैठकपछि अमेरिकी राष्ट्रपति बाइडेनले रूससँग सम्बन्ध सुधारको वास्तविक सम्भावना अहिले देखा परेको प्रतिक्रिया दिएका थिए ।
उनीहरूले दुवै देशमा एक अर्काका राजदूतहरू पठाउने सहमति पनि गरेको जनाइएको छ ।

यसअघि सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा रूसले हस्तक्षेप गरेको आरोप अमेरिकाले लगाएपछि दुबै देशहरूले छलफलका लागि भन्दै आआफ्ना राजदूत फिर्ता गरेका थिए ।

त्यसैगरी, दुवै पक्षले परमाणु अस्त्र नियन्त्रणबारे छलफल आरम्भ गर्न सहमति जनाएको पनि समाचारहरूमा उल्लेख गरिएको छ ।
झण्डै साढे २ बर्षदेखि जेलमा राखिएका विपक्षी नेता अलेक्सी नभाल्नीको बारेमा उनीहरुबीच पर्याप्त छलफल भए पनि कुनै सहमति भएको संकेत भने नदेखिएको अधिकारीहरुले बताएका छन् ।

त्यसैगरी साइबर सुरक्षा, युक्रेनलगायतका विषयमा पनि सकारात्मक उपलब्धि भएको कतै उल्लेख गरिएको छैन् ।

उनीहरूले कतिपय विषयमा आ–आफ्ना अडान अझै पनि कायमै राखेकाले सन्तोषजनक नभएको टिप्पणी पनि गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू