बिहीबार, वैशाख १३, २०८१
18:33 | २३:१८

भारतमा दैनिक संक्रमित संख्या एक लाखभन्दा कम

रासस-एएनआई जुन ९, २०२१

नयाँ दिल्ली, २६ जेठ– भारतमा कोरोनाभाइरसको दोस्रो लहरबाट दैनिक संक्रमितको संख्या एक लाखभन्दा कम हुन थालेको छ ।

सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा ९२ हजार ५९६ जना कोरोनाभाइरसबाट संक्रमित थपिएका छन् ।

लामो समयपछि दैनिक संक्रमितको संख्या एक लाखभन्दा कम भएको यो दोस्रो दिन भएको पनि केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

भारतमा यसअघि मंगलबार सार्वजनिक गरिएको विवरणमा एक दिनमा ८६ हजार ४९८ जना संक्रमित भएको देखाइएको थियो ।
त्यसैगरी त्योभन्दा अघिल्लो दिन सोमबार एक लाख ६३६ जना संक्रमित भएको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।
भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमितहरुको कुल संख्या दुई करोड ९० लाख ८९ हजार ६९ पुगेको छ ।

मन्त्रालयका अनुसार भारतमा अहिले पनि संक्रमित अवस्थामै रहेकाहरुको संख्या १२ लाख ३१ हजार ४१५ छ ।

भारतमा कोरोनाभाइरसबाट संक्रमित भएर पनि अहिले संक्रमणमुक्त भएकाहरुको संख्या दुई करोड ७५ लाख चार हजार १२६ रहेको जनाइएको छ ।

पछिल्लो २४ घण्टामा देशभर कोरोनाका कारण कुल दुई हजार २१९ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाका कारण अहिलेसम्म मृत्यु भएकाहरुको संख्या तीन लाख ५२ हजार ५२८ पुगेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू