बिहीबार, वैशाख १३, २०८१
23:19 | ०४:०४

विवाहको २७ वर्षपछि अलग भए धनाड्य बील गेट्स दम्पत्ती

रासस-सिन्ह्वा मे ४, २०२१

न्यूयोर्क । विश्वकै सबैभन्दा धनीमध्ये एक बिल गेट्स र उनीकी पत्नी मेलिन्डा गेट्सले सम्बन्ध विच्छेद् गरेका छन् ।

संसारको सबैभन्दा ठूलो परोपकारी कोष बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेशनका सञ्चालक जोडी गेट्सले सन् १९९४ मा हवाईको एउटा टापुमा विवाह गरी जोडेको सम्बन्ध २७ वर्षपछि बिच्छेद् गर्ने निर्णय भएको छ । 

उनीहरूले ट्वीटरमार्फत् सार्वजनिक गरेको एउटा संयुक्त विज्ञप्तिमा यस कुराको जानकारी दिएका हुन् । 

‘विगत २७ वर्षमा हामीले तीन अद्भुत सन्तानहरू हुर्काएका छौँ र संसारभरिका मानिसहरूलाई स्वास्थ्य र उत्पादनशील जीवन बाँच्न सक्षम तुल्याउने एउटा कोष बनाएका छौँ । हामी हाम्रो उद्देश्यमा एकै ठाउँमा छौँ र उक्त कोषमा मिलेर काम गर्नेछौँ । तर जीवनको अबको चरणमा जोडीका रूपमा आफ्नो प्रगति हुन नसक्ने हाम्रो विश्वास छ’, विज्ञप्तिमा भनिएको छ । 

यद्यपि उनीहरूले ‘बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेशन’ लाई भने मिलेर सञ्चालन गर्ने जनाएका छन् । उक्त जोडीले नयाँ जीवनमा अघि बढ्न लाग्दा आफ्नो परिवारको गोपनीयतालाई कायम राख्ने सहमति भएको बताइएको छ । 

फोर्ब्सका अनुसार बिल गेट्स विश्वकै चौथो धनी व्यक्ति हुन्  । उनको सम्पत्ति १२४ अर्ब डलर छ । उनी माइक्रोसफ्टका भूतपूर्व सह-संस्थापक तथा पूर्वअध्यक्ष पनि हुन्   

उक्त जोडीले ‘लामो सोचविचारपछि विवाह अन्त्य गर्ने निर्णय गरेको’ सामाजिक सञ्जाल ट्विटरमा उल्लेख गरेको छ ।

सन् १९८० को दशकमा मेलिन्डा बिलको फर्ममा एक कर्मचारीको रूपमा काम गर्ने शिलशिलामा उनीहरूको भेट भएको थियो । मेलिन्डा प्रडक्ट म्यानेजरको रूपमा सन् १९८७ मा माइक्रोसफ्टमा आबद्ध भएकी थिइन् ।

तीन सन्तानका अविभावक बनिसकेका उनीहरूको निर्णयलाई अनपेक्षित मानिएको छ । 

उनीहरूले सञ्चालन गरेको परोपकारी संस्थाले संक्रामक रोगको नियन्त्रण र बालबालिकाको खोपलाई प्रोत्साहन गर्ने जस्ता कामका लागि अर्बौं डलर खर्च गर्दै आएको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू