बिहीबार, चैत १५, २०८०
15:39 | २१:२४

भारतमा २० सहित २३ नेपालीको मृत्यु

रासस मे ३, २०२१


लन्डन । गत साता भारतमा २० सहित विदेशस्थित २३ नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार भारतलगायत विभिन्न मुलुकमा बढ्दै गएको कोरोना भाइरस महामारीको प्रकोपका कारण मृत्युदर बढेको हो ।

समितिका संयोजक डा सञ्जीव सापकोटाअनुसार गत साता भारतमा २०, कुवेतमा दुई र कतारमा एक नेपालीको कोरोनाका कारण निधन भएको हो ।

भारतको नयाँ दिल्लीमा कार्यरत स्वास्थ्य समितिका सदस्य तथा अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्समा कार्यरत डा सागर पौडेलका अनुसार नयाँ दिल्लीमा १० र भारतका अन्य क्षेत्रमा थप १० गरी कूल २० नेपालीको निधन भएको हो । निधन हुनेमा अधिकांश ५० वर्षभन्दा मुनिका छन् ।

यससँगै हालसम्म विश्वका २१ मुलुकमा संक्रमणका कारण ३७२ नेपालीको निधन भएको छ । हालसम्म मृत्यु भएकामध्ये २४५ जना मध्यपूर्वका छन् ।

अहिलेसम्म विश्वका ५४ मुलुकमा कोभिड १९ का कारण संक्रमित हुने नेपाली ६८ हजार ५०६ जना पुगेका छन् । कुल संक्रमितमध्ये ९४ दशमलव ६ प्रतिशत अर्थात् ६४ हजार ७४४ संक्रमणमुक्त भएका छन् ।

गत साता भारत, कुवेत, कतार, युएई, रोमानिया, रुस, फिनल्याण्ड, डेनमार्क, चेक रिपब्लिक र पोल्याण्डमा रहेका थप नेपालीमा कोरोना संक्रमण देखिएको समितिले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू