बिहीबार, वैशाख ६, २०८१
07:04 | ११:४९

नेकपा मुद्धामा सर्वोच्चमा प्रचण्डको पुनरावलोकन निवेदन

नेपाली लिङ्क मार्च ३०, २०२१


काठमाडौं । सर्वोच्च अदालतमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नामको सम्बन्धमा परेको मुद्दाको फैसला पुनरावलोकन गर्न निवेदन दर्ता गरेका छन् ।

सर्वोच्च अदालतले गत फागुन २३ गते ऋषि कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पक्षमा तथा तत्कालीन नेकपा (एमाले) र तत्कालीन नेकपा (माओवादी) कानूनी रुपमा अलगअलग पार्टी भएको भनी फैसला सुनाएको थियो । उक्त फैसलाको पुनरावलोकन गर्न आज अध्यक्ष दाहाल आफैँ सर्वोच्च अदालतमा पुगी पुनरावलोकन निवेदन दर्ता गराएका हुन् ।

‘हामीलाई विश्वास छ, देशको राजनीतिक स्थायित्वका निम्ति, शान्ति र समृद्धिको नयाँ अभियानमा नेपाल जाँदैछ’, अध्यक्ष प्रचण्डले भने, ‘यस्तो बेलामा एकताबद्ध भइसकेका दललाई विभाजित गर्नेजस्तो राजनीतिक काम अदालतले गरेकाले त्यसलाई सच्याउने छ भन्ने हामीलाई विश्वास छ ।’

उनले प्रतिनिधिसभा पुनःस्थापना गर्ने निर्णय स्वागतयोग्य भएको तर गत फागुन २३ गते नेकपाको नाम सम्बन्धमा भएको फैसला भने आफूहरुलाई स्वाभाविक नलागेको उल्लेख गर्दै भने, ‘फैसला अस्वाभाविक छ, अप्राकृतिक छ र राजनीतिक प्रकृतिको निर्णय भयो भनेर हामीले असहमति जनाएका थियौँ, त्यही फैसलालाई पुनरावलोकन गर्नुपर्यो भनेर मैले निवेदन दर्ता गराएको छु ।’

उक्त पुनरावलोकन निवेदनमाथि सुनुवाइ गर्नका लागि अदालतले निस्सा दिनुपर्ने हुन्छ । उक्त विषयमा पुनरावलोकन दिने वा नदिने भन्ने विषयमा अदालतले पेशी तोकेपछि मात्र थाहा हुनेछ ।

पुनरावलोकन निवेदनमा गत फागुन २३ गतेको फैसला सर्वोच्च अदालतको यसअघि प्रतिपादित नजिर र सिद्धान्तको प्रतिकूल भई गम्भीर त्रुटिपूर्ण रहेको हुँदा पुनरावलोकन हेरी त्रुटिपूर्ण आदेश बदर गरी संविधानअनुसार इन्साफ दिलाई पाऊँ भनिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू