शुक्रबार, चैत १६, २०८०
09:41 | १५:२६

थाइ प्रधानमन्त्रीले अस्ट्राजेनिका खोप लगाउने   

खोपका कारण रगत जमेको ठोस प्रमाण नभेटिएको

रासस-सिन्ह्वा) मार्च १५, २०२१

बैंकक । थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओचाले भोलि मंगलबार कोरोना भाइरसविरुद्धको खोप लगाउने भएका छन् ।

रगत जम्ने खतरा देखिएको भन्दै केही युरोपेली मुलुकले अस्ट्राजेनिकाको खोप लगाउन स्थगित गरेको भन्दै थाइल्याण्डले समेत शुक्रबार खोप अभियान स्थगित गरेपनि प्रधानमन्त्री ओचाले भोलि त्यही खोप लगाउने भएका छन् ।

उपप्रधानमन्त्री तथा सार्वजनिक स्वास्थ्य मन्त्री अनुतिन चार्नभिराकुलले भने खोप सुरक्षित नै रहेको दावी गरेका छन् । मन्त्रीपरिषद्का सदस्यमध्ये ६० बर्ष उमेर पुरा भएका अन्य मन्त्रीलाई पनि भोलि खोप लगाउने कार्यक्रम रहेको उनले बताए ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लगायतका धेरै स्वास्थ्य निकायहरूले अस्ट्राजेनिकाको कोभिड खोपमा कुनै समस्या नरहेको दाबी गरेपनि केही देशहरूमा खोप अभियान स्थगित गरिएको छ ।

वैज्ञानिकहरुले कोभिडलाई परास्त गर्न खोप एकमात्र भरपर्दो साधन रहेको बताएका छन् । विश्वमा हाल कोरोनाभाइरसको संक्रमणबाट २६ लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

तर अक्सफोर्ड–अस्ट्राजेनिकाले विकास गरेको कोभिड खोपका कारण मानिसको शरीरमा रगत जमेको भन्ने रिपोर्टका आधारमा बिहीबार डेनमार्क, नर्वे, आइसल्यान्ड, इटाली र रोमानीयाले अस्ट्राजेनिकाको खोप लगाउन रोकेका छन् ।

स्वास्थ्यसम्बन्धी नियामक निकायहरूले खोपकै कारण रगत जमेको भन्ने ठोस प्रमाण नभेटिएको जनाएका छन्, तर सावधानीका लागि खोप अभियानमा ढिलाई गरिएको युरोपेली मुलुकहरुको भनाइ छ ।

खोप अभियान राम्रोसँग सञ्चालन गर्न नसकेको युरोपले खोप अभियानलाई अझ बढावा दिन संघर्ष गर्नु परिरहेको छ । युरोपेली युनियनले अस्ट्राजेनिकामाथि निरन्तर पर्याप्त आपूर्ति व्यवस्था मिलाउन दबाब दिइरहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू