राहत सामग्रीसहित एनआरएनए टोली रसुवा पुग्यो


काठमाडौं––भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटमा प्रभावित नागरिकको उद्धार तथा राहतका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) आज १६ औँ दिनमा पनि फिल्डमा खटिएको छ ।
यसै क्रममा एनआरएनएका पदाधिकारी तथा स्वयंसेवक सम्मिलित टोली आज शुक्रबार आवश्यक राहत सामग्रीसहित रसुवा पुगेको छ। काठमाडौंबाट बिहान प्रस्थान गरेको टोली १२ घण्टाको कठिन यात्रापछि बेलुका मात्रै रसुवाको धुन्चे पुगेको हो। टोलीले भोलि गोसाइँकुण्ड गाउँपालिकाअन्तर्गत वडा नं. १ र ५ का थुमन, स्याफ्रुबेसी, ठूलो स्याफ्रु लगायत विभिन्न प्रभावित बस्तीमा पुगेर स्थानीय सरकारसँगको समन्वयमा प्रभावित परिवारलाई आवश्यक राहत सामग्री वितरण गर्नेछ। साथै स्थलगत अवलोकन, वास्तविक अवस्था र आवश्यकताबारे जानकारी लिनेछ ।
यसअघि एनआरएनएले रसुवाका बाढी प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधि तथा सरोकारवालासँग समन्वय गरी प्रभावित परिवारको संख्या, क्षतिको अवस्था तथा तत्काल आवश्यक राहत सामग्री र स्वास्थ्य सेवासम्बन्धी आवश्यकताको विवरण संकलन गरेको थियो ।

२ करोड ९० लाख रुपैयाँभन्दा बढी रकम संकलन
भोटेकोशी बाढी प्रभावितका लागि पूर्वप्रतिबद्धता अनुसार सहयोग रकम प्राप्त हुने क्रम जारी छ । पदाधिकारीहरु, विभिन्न राष्ट्रिय समन्वय परिषद् (एनसीसी) तथा विदेशमा रहेका नेपालीहरुको व्यक्तिगत तर्फबाट हालसम्म ८ करोड ४९ लाख ३२ हजार चारसय दुई रुपैयाँ सहयोग प्रतिबद्धता प्राप्त भएकोमा २ करोड ९० लाख ३५ हजार रुपैयाँभन्दा बढी रकम संकलन भइसकेको छ। बाँकी प्रतिबद्धता रकम संकलन तथा जम्मा गर्ने प्रक्रिया जारी छ।
पहिलो चरणमा साउदी अरेबिया, बहराइन र म्यानमार एनसीसीले फन्डरेजिङ अभियान सम्पन्न गरेका छन्। बहराइनबाट २५ लाख ७९ हजार ३२८ रुपैयाँ,ओमानबाट १३ लाख १५ हजार रुपैंयाँ, साउदी अरेबियाबाट १० लाख रुपैयाँ,र म्यानमारबाट ६ लाख १ हजार रुपैयाँ प्राप्त भएको छ। बाँकी एनसीसीहरूबाट प्रतिबद्धता गरिएको रकम संकलन तथा जम्मा गर्ने प्रक्रिया जारी छ। संघका कोषाध्यक्ष तथा सम्बन्धित प्रतिनिधिहरूमार्फत निरन्तर समन्वय र पत्राचार भइरहेकोले बाँकी प्रतिबद्धता रकम पनि क्रमशः कोषमा जम्मा हुने क्रममा छ।
एनआरएनएले बाढी प्रभावित परिवारका लागि हाप्सा नेपालबाट प्राप्त १३० वटा स्वास्थ्य तथा सरसफाइ सामाग्रीहरु रसुवाका प्रभावित क्षेत्रमा पुर्याउन सहजीकरण गरेको छ । प्रत्येक किटमा पारासिटामोल, ओआरएस, टुथब्रस, टुथपेस्ट, सेनेटरी प्याड, ह्यान्ड सेनिटाइजर, लामखुट्टे भगाउने सामग्री तथा पानी शुद्धीकरण गर्ने पियूस लगायत छन्।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


