शुक्रबार, वैशाख ७, २०८१
02:39 | ०७:२४

ओलीले सातै प्रदेशका इन्चार्ज, अध्यक्ष र सचिव हेरफेर गरे

रासस मार्च १२, २०२१

काठमाडौं । नेकपा (एमाले) ले प्रदेश कमिटीका पदाधिकारीको जिम्मेवारी हेरफेर गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सातवटै प्रदेशका इन्चार्ज, अध्यक्ष र सचिव हेरफेर गरेको हो ।

नेकपा (माओवादी केन्द्र) बाट आएका गृहमन्त्री रामबहादुर थापा, लेखराज भट्ट र प्रभु साहलाई प्रदेश कमिटीको जिम्मेवारी दिइएको छ । थापालाई वाग्मती प्रदेशको इन्चार्ज, साहलाई प्रदेश–२ को अध्यक्ष र भट्टलाई सुदूरपश्चिम इन्चार्ज तोकिएको वाग्मती प्रदेशका अध्यक्ष आनन्द पोखरेलले जानकारी दिए ।

उनका अनुसार एमालेको प्रवक्तामा प्रदीपकुमार ज्ञवाली, प्रदेश–१ को इन्चार्जमा सुवासचन्द्र नेम्वाङ, अध्यक्षमा देवराज घिमिरे र सचिवमा विनोद ढकाल, प्रदेश–२ इन्चार्जमा सत्यनारायण मण्डल, अध्यक्षमा साह र सचिवमा सुमन प्याकुरेल, वाग्मती प्रदेशको इन्चार्जमा थापा, अध्यक्षमा पोखरेल र सचिवमा खेम लोहनी, गण्डकी प्रदेशको इन्चार्जमा पृथ्वीसुब्बा गुरुङ, अध्यक्षमा जगत विश्वकर्मा र सचिवमा गोविन्द नेपालीलाई चयन गरिएको छ ।

यस्तै लुम्बिनी इन्चार्जमा शंकर पोखरेल, अध्यक्षमा लीला गिरी, सचिवमा खेममान खड्का, कर्णाली प्रदेशको इन्चार्जमा यमलाल कँडेल, अध्यक्षमा गुलाबजंग शाह र सचिवमा धर्मराज रेग्मी, सुदूरपश्चिम इन्चार्जमा लेखराज भट्ट, अध्यक्षमा कर्ण थापा र सचिवमा राजेन्द्रसिंह रावल रहेका छन् ।

यस्तै वाग्मती प्रदेश अध्यक्ष पोखरेलका अनुसार एमालेको दशौं महाधिवेशन आगामी मङ्सिर २ देखि ६ गतेसम्म गर्ने निर्णयसमेत भएको छ । बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका केन्द्रीय सदस्य भने सहभागी थिएनन् ।

यसअघि एमालेको नवौँ महाधिवेशन २०७१ असारमा भएको थियो । एमाले र माओवादी केन्द्रबीचको एकतापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको थियो । यही फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले दुई पार्टी मिली बनेको नेकपालाई मान्यता नदिएपछि एमाले र माओवादी केन्द्र व्यूँतिएका थिए ।

अध्यक्षले विधान मिचेको नेपाल समूहको ठहर
नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टी अध्यक्ष केपी शर्मा ओलीले विधान विपरीत पार्टी महाधिवेशनको मिति तोक्ने, प्रदेश इन्चार्जको चयन तथा केन्द्रीय कमिटीको विस्तार गरेको भन्दै विरोध गरेको छ ।

एमालेका वरिष्ठ नेता नेपाल, झलनाथ खनाललगायत नेताहरूको आज साँझ बसेको बैठकले पार्टी अध्यक्षको निर्णय वैधानिक नभएको निष्कर्ष निकालेको नेता भीमबहादुर रावलले जानकारी दिए । उनले अध्यक्षले नै विधान मिचेर गलत निर्णय गरेको भन्दै आपत्ति जनाए ।

सो समूहको बैठकपछि नेता रावलले भने, ‘एकलौटी तवरले गरिएको निर्णय मान्न सकिँदैन । अब कसरी अगाडि बढ्ने भन्ने विषयमा थप छलफल गर्छौं ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू