मंगलबार, वैशाख ११, २०८१
11:33 | १६:१८

शङ्खघोष गर्छु म

सन्दर्भ: नारी दिवस

भावना परिष्कृत सुनुवार मार्च ७, २०२१

पूजाको दीयोदेखि

कपडामा सियो म नारी

भोकमा मिठो फलदेखि

प्यासमा चिसो जल पनि म नारी

जननी मात्र हैन जिवनदायिनी हुँ म सृष्टिको 

अपार शक्ति संहारिणी म नारी 

धारणा हुँ म अमर तत्व प्रेमको

सफल अनि विशाल पुन्य कार्यकारिणी पनि 

अनि समर्पिता म

आफैलाई भुलेर

सर्बदा अरूकै खुशीमा

आफ्नो भागको सुख अर्पण गर्दै

निर्मल मनको जलधाराले

कोमल मृदवाणीको लेपन गर्दै 

कुशल व्यवहार प्रदर्शन गर्दै

सत्यको प्रतिमूर्ति म नारी 

तप र साधनाको 

अदभूत अनुभूति म नारी

अनि फेरि पनि म नारी

बदलामा सदियौँदेखि

शोषण, दमन र हिंसाको भारले थिचिँदै

निस्सासिएको म नारी

र पनि प्रचण्ड क्षमता र अखण्ड

रोशन अस्मिताले जगमगाउँदै

धैर्यताले आफ्नो अस्तित्व 

सम्हाल्दै उठेको म नारी

हो हिजोको कालरात्री देखिको

आजको यो संघर्ष बिहानी सम्मको म नारी

अब युगको आधा मेरो हिस्सा

इमान्दारपूर्वक मलाई फकाई देऊ

जसलाई म पूर्णताको

सही गन्तव्यमा पुराउने छु

तिमीले अवला ठानिकन

मेरो अदभूत शक्तिलाई ललकारेका छौ

धैरै ठाउँमा, प्राय सबै क्षेत्रमा मेरो कदम रोक्दै  

मलाई खसालेका छौ, धकेलेका छौ, कुल्चेर हाँसेको पनि छौ 

मेरो स्वतन्त्रतामा हस्तक्षेप गर्दै 

आफ्नो स्वार्थमा प्रयोग गरेको छौ

अब तिमीले बिश्राम गर्नुपर्छ बेलगाम दौडलाई लगाम दिँदै 

युद्ध मैदानमा म उत्रिसकेकी छु योद्धा बनेर 

सारथी बन्छु म आफै आफ्नो, 

योद्धा बन्छु म मेरो अस्तित्वलाई ललकार्नेको बिरुद्दमा 

सेनापति, निर्णायक सबै सबै बन्छु म

अबको पालो तिमीलाई डोराउँदै विजयको यात्रा आरम्भ गर्छु म

जगतलाई हत्केलामा सम्भाल्दै 

कुममा थेग्ने आँट र साहस राख्छु म

नारीको न्याय र  गरिमाको खातिर 

परिबर्तन र प्रगतिको निम्ति 

बिभिद विभेद र लैगिक असमानताको बिरुद्दमा 

महा युद्दको घोषणा गर्दै

समता मुलक नबिन युगको चाहतमा 

शङ्खघोष गर्छु म

बेलायत

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू