शुक्रबार, वैशाख ७, २०८१
16:51 | २१:३६

एनआरएनए नेताहरु लाप्राक नमूना वस्ती निरीक्षणमा

नेपाली लिङ्क मार्च ४, २०२१

काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको नेतृत्वमा संघको एक प्रतिनिधि मण्डल र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मणिराम गेलालले निर्माणाधिन लाप्राक नमूना वस्तीको निरीक्षण भ्रमण गरेका छन् । सो भ्रमण टोलीमा २० जनाको सहभागिता थियो ।

बडाका अध्यक्ष राज गुरुङ्गले स्वागत मन्तव्य व्यक्त गर्दै वस्ती अब छिटो सम्पन्न हुनेमा लाभग्राहीहरु विश्वस्त भएका र सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । परियोजनाका सहसंयोजक श्याम तामाङ्गले वस्ती निर्माण सम्बन्धि भएका प्रगतिबारे जानकारी गराउंदै बांकी काम एक महिना भित्र सहजै सम्पन्न गर्न सकिने विश्वास व्यक्त गरे ।

सो अवसरमा संघका उपाध्यक्ष तथा परियोजना संयोजक सोनाम लामाले लाभग्राहीहरुकै अनुरोधमा संघले आफ्नो घर आफैं बनाउ अभियान अन्तर्गत लाभग्राहीहरुलाई थप आयआर्जनको अवसर प्रदान गर्न सहमतिको दररेटमा कामको जिम्मा दिइएको भएपनि काम सम्पन्न हुन ढिलाई भएको औंल्याए । उनले समयमै काम सम्पन्न गर्न पुनः बाहिरबाट कामदारहरु लान पर्ने अवस्था आएकोमा दुःख प्रकट गरे ।
संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले विश्वभर फैलिएका गैरआवासीय नेपालीहरुको सहयोगमा निर्माण भइरहेको नमूना वस्तीको काम अन्तिम चरणमा पुगेकोमा निर्मांण कार्यमा संलग्न हुने र सहयोग गर्ने सम्पूर्ण व्यक्तिहरुलाई धन्यवाद व्यक्त गर्दै आफ्नो घरमा आफैं बसि आफ्नो आवश्यक्ता अनुसार निर्माणका अन्तिम कामहरुमा सहभागी हुन लाभग्राहीहरुलाई सुझाव दिए ।

संघका पूर्व अध्यक्ष जीवा लामिछानेले वस्तीको निर्माण कार्यमा केहि ढिलाइ हुन गएपनि अब लगभग सकिएकोले आफ्नो घर तथा आगनको सजावट र निर्माण कार्यमा सहभागी हुने उपयुक्त अवसर भएकाले लाभग्राहीहरुलाई यस अवसरको उपयोग गर्न सुझाव दिए ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मणिराम गेलालले विभिन्न कठिनाइका बावजुत पनि यस्तो सुन्दर वस्ती निर्माण गरिदिएकामा सम्पूर्ण गैरआवासीय नेपालीहरुलाई धन्यवाद व्यक्त गर्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका तर्फबाट पूर्वधार बिकासको लागि प्रति लाभग्राही प्राप्त हुने रु ४ लाख अनुदान दिन प्राधिकरण कटिवद्ध रहेको र त्यस मध्य रु. एक करोड पैंतिस लाखको लागतमा वस्तीको दक्षिण तर्फको रिटेनिङ्ग वाल र नाला निर्माण गरिसकेको अवगत गराए ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले संघको अथक प्रयास र परिश्रमबाट यो वस्ती निर्माण भएकाले यसप्रति संधै संघको लगाव रहने र भविष्यमा पनि यस बस्तिमा गैरआवासीय नेपालीहरुको आगमन निरन्तर रहेने बताए । उनले लाभग्राहीरुलाई लालपूर्जा उपलब्ध गराउने र पूर्वाधार निर्माणमा समेत संघले प्राधिकरणलाई घचघचाई रहेको जानकारी गराउंदै १२ बैशाख २०७८ मा अधिकारिक रुपमा वस्ती हस्तान्तरण गर्ने कार्यक्रम तय भएकोले सो समय भित्रै वस्ती निर्माणका अन्तिम कामहरु सम्पन्न गर्न लाभग्राहीलाई सचेत गराए । उनले वस्ती निर्माणमा सहयोग गर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, शहरी बिकास मन्त्रालय, गैरआवासीय नेपालीहरु, केयर नेपाल, नेपाली सेना, लाभग्राहीहरु र गाउंपालिका तथा वडा कार्यालयलाई धन्यवाद दिए ।

सो भ्रमण टोलीमा संघका उपाध्यक्ष डा. बद्री केसी, सल्लाहकार कुल आचार्य, क्षेत्रीय उपसंयोजकद्वय कृष्ण तिमिल्सिना र मनोज श्रेष्ठ, मध्य पूर्वका पूर्व क्षेत्रीय उपसंयोजक राजु सैयद, अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य चिन्तामणि सापकोटा, राष्ट्रिय समन्वय परिषद यूएसएका पूर्व अध्यक्ष केशव पौडेल र वर्तमान उपाध्यक्ष बुद्धि सागर सुवेदी, पूर्व परियोजना निर्देशक सुवास अधिकारी, सञ्चारकर्मीहरु तथा संघका कार्यकारी निर्देशकको सहभागिता थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू