शुक्रबार, चैत १६, २०८०
23:53 | ०५:३८

हाइटीको जेलबाट २०० कैदी भागे, झडपमा २५ को मृत्यु

रासस-एएफपी फ्रेब्रवरी २७, २०२१

पोर्ट ओ प्रिन्स–हाइटीमा जेलबाट शुक्रबार २०० भन्दा बढी कैदी भागेका छन् । भाग्ने क्रममा भएको झडपमा परी कम्तीमा २५ जनाको मृत्यु पनि भएको छ । मृत्यु हुनेमा जेलका निर्देशक समेत रहेको सञ्चार सचिव फ्रन्टज एक्सान्तुजले शनिबार जानकारी दिए । जेलमा झण्डै ४०० कैदी थिए ।

“घटनामा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ । तीमध्ये छ जना कैदी नै रहेका छन् भने एक जना जेलका प्रमुख पौल हेक्टर जोसेफ रहेका छन्,” उनले भने । राजधानी पोर्ट ओ प्रिन्समा रहेको जेलमा भागाभाग हुँदा उनीहरुको मृत्यु भएको पनि उनले जानकारी दिए । मृत्यु हुनेमा केही सर्वसाधारण पनि रहेको उनले बताए ।

झण्डै दुई सय जना कैदी भने अझै पनि जेलमै छन् । उनीहरुलाई भाग्न नदिन प्रहरीले धेरै मेहनत गरेको सचिव एक्सान्तुजले बताए । जेलमा राखिएका केही कैदीलाई हतकडी लगाइएको र केहीलाई बाँधिएकोले पनि उनीहरु भाग्न नसकेको उनको भनाई छ ।

मृत्यु हुनेमा एक जना समूह नाइके अर्नेल जोसेफ पनि रहेका छन् । उनलाई प्रहरीले गोली प्रहार गरेर हत्या गरेको अधिकारीहरुले जनाएका छन् । सुरक्षा कारबाहीका क्रममा उनको मृत्यु भएको प्रहरी अधिकारीहरुले पनि स्विकार गरेका छन् । हाइटीमा जेल तोडफोड भएका र कैदीहरु भागे तथा उनीहरुको मृत्यु भएका घटना बेला बेलामा हुने गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू