शुक्रबार, चैत १६, २०८०
13:21 | १९:०६

म्यान्मारको सेनाद्वारा सरकारमा सहभागी हुन दलहरुलाई आग्रह, दलहरुद्वारा अस्वीकार  

रासस-सिन्ह्वा फ्रेब्रवरी ९, २०२१

फाइल फोटो

याङ्गुन ।  सत्ता हातमा लिएको म्यान्मारको सेनाले सत्तामा सहभागी हुन दलहरुलाई आह्वान गरेको छ । सत्ता हातमा लिने सेनाको कदमका विरुद्धमा दलहरु आन्दोलित भइरहेका बेला सेनाले दलहरुलाई नै सत्ता साझेदारीका लागि आग्रह गरेको हो ।

सेनाले निर्वाचन गर्न आफूले सत्ता लिएको र त्यसमा सहयोग गर्न दलहरुलाई आग्रह गरिएको जनाएको छ ।  यही फेब्रुअरी १ मा म्यान्मारको सेनाले सत्ता हातमा लिएको घोषणा गर्दै दलका नेताहरुलाई नियन्त्रणमा लिएर संकटकाल समेत लागू गरेको छ ।

सेनाको कदमको विश्वभरीबाट विरोध भइरहेको छ भने देशभित्र पनि दिनप्रति दिन आन्दोलनकारीहरुको संख्यामा  बृद्धि भइरहेको छ । आन्दोलन चर्किरहेको बेला सेनाले सत्तामा आउन गरेको आग्रहलाई दलहरुले भने अस्वीकार गरिदिएका छन् ।

सेनाकै नियन्त्रणमा रहेकी  म्यान्मारकी तत्कालीन स्टेट काउन्सीलर आङ साङ सुकीले पनि सेनाको सबै कदम र आह्वान गलत भएको भन्दै अस्वीकार गरिएको बताएकी छन् । उनले सेनाको कदममा साथ नदिन र रणनीतिमा नफस्न अन्य दल तथा नेताहरुलाई आह्वान गरेकी छन्  ।

सेनाले भने शान्ति वार्ता मार्फत समाधान खोज्न र विरोध प्रदर्शनमा नउत्रिन आग्रह गरेको समाचारमा जनाइएको छ । देशमा स्थिरताका लागि अहिलेको प्रदर्शन र विरोध बाधक हुने म्यानमारको सेनाको ठहर छ ।

सेनाको तर्फबाट जारी गरिएको वक्तव्यमा देशभरी भइरहेका प्रदर्शन र विरोधप्रति ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।  सेनाले स्थिरता, सार्वजनिक सुरक्षा र कानुनको पालना सुनिश्चित गर्न पनि सबैलाई अनुरोध गरेको छ ।

प्रदर्शनकारीहरुले स्टेट काउन्सिलर तथा चर्चित प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलगायतका नेताहरुलाई तत्काल रिहा गर्न माग गरेका छन् ।

गत नोभेम्बरमा भएको निर्वाचनपछि गठित नयाँ संसद र त्यसपछिका प्रक्रियाप्रति सेनाले असन्तुष्टि जनाउँदै आएको थियो । त्यही असन्तुष्टिकै बहानामा सेनाले सत्ता लिएकोप्रति धेरै तिरबाट बिरोध भइरहेको छ ।

सेनाले राजनीतिक हस्तक्षेप गरेपछि सुरु भएको विरोध प्रदर्शनमा दिनप्रतिदिन सहभागिता पनि बढ्दै गइरहेको समाचारमा जनाइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू