शुक्रबार, चैत १६, २०८०
06:13 | ११:५८

बेलायतमा एक लाख जनालाई निशुल्क खाना खुवाउने अभियानमा सुजन

ब्रिटिश अभिनेत्री जोआना लुम्लेको पनि साथ

नेपाली लिङ्क फ्रेब्रवरी ५, २०२१

लन्डन । बेलायतमा कोभिड महामारी शुरु भए लगत्तै सरकारले लकडाउन गरेपछि गत मार्च अन्तिमसातादेखि उनको रेष्टुरेन्टमा ताला लाग्यो । आफ्नो व्यापार चौपट्ट हुने चिन्ता छाडेर महामारीका बेला संक्रमितहरुको ज्यान बचाउन अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी र कि वर्करको चिन्ताले पिरल्यो उनलाई ।

पानस रेष्टुरेन्टका सञ्चालक सुजन कटुवाल

लन्डन लुइसमस्थित ‘पानस रेष्टुरेन्ट’ का सञ्चालक सुजन कटुवालले त्यसपछि शुरु गरे निशुल्क खाना खुवाउने अभियान । अस्पताल र केयरहोममा काम गर्ने स्वास्थ्यकर्मी, एम्बुलेन्स ड्राइभर तथा कि वर्कर, घरवारबिहीन (होमलेस) र कम्युनिटी सेन्टरका मानिस गरि झण्डै एक वर्षभित्र करिब ८० हजार जनालाई सम्पूर्ण खर्च एक्लैले बेहोरेर निशुःल्क तातो खाना ख्वाइसकेको सुजन बताउंछन् । खानामा चिकेन करी वा भेजिटेबल, राइस र अचार हुने उनले बताए ।

उनले साउथ इष्ट लन्डनको ग्रीनवीच र लुइसम बरो काउन्सिलभित्र खाना बांडिरहेका छन् जसमा आफ्नी जीवनसंगिनी बन्दना कटुवाल र एक्जुकेटिभ सेफ राम पौडेलले अहोरात्र सहयोग गरेका छन् ।

अहिले सुजन एकलाख जनासम्मलाई खाना खुवाउन अग्रसर भएका छन् । अब उनले थप साथ पनि पाएका छन् । ‘हयासटयाग १०० के फ्रि हट मिल्स’ अभियानमा बेलायती चर्चित अभिनेत्री जोआना लुम्ले र मिसिलिन स्टार सेफ अतुल गोचर पनि जोडिन आइपुगेका छन् । अभिनेत्री लुम्लेले सुजनको निस्वार्थ समाजसेवाप्रति कृतज्ञता व्यक्त गर्दै पठाएको बधाई तथा शुभकामनाको भिडियो सन्देश बीबीसीमार्फत  प्रसारण भएको छ ।

एक्जुकेटिभ सेफ राम पौडेल

‘ब्रिटिश अभिनेत्रीहरु जोआना र सेली लिन्ड्से, मिसिलिन स्टार सेफ अतुल गोचर, ब्रिटिश मिडिया र शुभचिन्तकहरुको पूर्ण साथले हामी अभियानको ‘पिक’ मा पुग्न सफल भयौं’, सुजनले नेपाली लिंकसंग भने, ‘अब त कम्युनिटीबाट आर्थिक सहयोग तथा नैतिक समर्थन पाएर पनि अभियान सार्थक तुल्याउन झन् दृढ छु ।’

सुजनले गत सातामात्र ‘पानस हेल्पिङ हयाण्ड्स’ नामक च्यारिटी संस्था पनि दर्ता गरेका छन् जसबाट भविष्यमा सहयोग प्रदान गरिनेछ ।

‘अतिथीको सत्कार र आपतविपतमा सेवा त नेपालीको कल्चर नै हो’, आफू अभियानमा लाग्न प्रेरित भएकोबारे उनले सुनाए- ‘खासमा एनएचएसका लागि सय वर्षको उमेरमा पनि करिब ३३ मिलियन पाउण्ड जुटाउने स्वर्गीय क्याप्टेन सर टम मोरबाट म थप प्रेरित भएं ।’

सुजनको परोपकारी सेवा आइटिभीले तीनपटक, बीबीसी रेडियोले दुई पटक, बीबीसी टेलिभिजनले एकपटक कभर गरिसकेका छन् । अरु स्थानीय बेलायती तथा नेपाली मिडिया कभरेज त लेखाजोखा नै छैन् ।

नेपालमा राइजिङ नेपालमा समेत छापियो । उनले कोभिड महामारीका बेला गरेको सामाजिक योगदान वापत ‘लुइसम मेयर अवार्ड २०२०’ पनि पाए । ‘फलको आशा नराखी कर्म गरेको छु । बांकी मुल्यांकन समुदाय र तपाईं मिडियाकर्मी साथीहरुले गर्नुहोला’, उनले जांदाजांदै भने ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू