शनिबार, वैशाख ८, २०८१
09:39 | १४:२४

नेपालकै पहिलो महिला बक्सरको न्यूयोर्कमा कोरोनाले निधन

नेपाली लिङ्क फ्रेब्रवरी ४, २०२१

न्यूयोर्क । न्यूयोर्कमा कोरोना संक्रमणबाट नेपाली महिला बक्सिङ खेलाडी सोनी डंगोलको निधन भएको छ ।

डंगोलको बुधबार न्यूयोर्कको जमैकामा रहेको अस्पतालमा निधन भएको नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्बाङले जानकारी दिए ।

झण्डै एकसाता अगाडि स्वासप्रश्वासमा समस्या भएपछि डंगोललाई अस्पतालमा भर्ना गरिएको थियो । परीक्षणका क्रममा उनको परिवारमा छोरीबाहेक सबैलाई कोरोना संक्रमण पुष्टि भएको थियो । एकसातादेखि अस्पतालमा उपचार भइरहेकोमा बुधबार निधन भएको जनाइएको छ ।

४५ वर्षीया डंगोल अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी नेपालको पहिलो महिला बक्सरमात्र नभई साफ मुलुककै पहिलो महिला बक्सर रहेको जनाइएको छ । न्युयोर्कको जमैकामा पति विजय डंगोलसहित सपरिवार बस्दै आएकी उनले न्यूयोर्कको ब्रुकलिनमा आफ्नै शैलुन चलाउँदै आएकी थिइन् । उनको परिवार गत वर्षमात्र जमैकामा घर किनेर सरेको थियो ।

फेब्रुअरी ८ तारिख सोमबार न्यूयोर्कको क्वीन्स कोरोनामा रहेको कोपोला मियोरें फ्युनरल चापलमा दाहसंस्कारको कार्यक्रम रहेको र विहान १० बजेदेखि १२ बजेर ४५ मिनेटसम्म त्यहाँ उपस्थित भएर श्रद्धाञ्जली व्यक्त गर्न सकिने व्यवसायी प्रदीप श्रेष्ठले जानकारी दिए ।

तर कोरोनाको महामारीका कारण सामाजिक दूरी कायम गर्ने लगायतका नियमका कारण एकपटकमा २५ जनालाई मात्र अनुमति दिइएको छ ।श्रेष्ठले मृतक डंगोलप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

न्यूयोर्कमा कोरोना संक्रमणबाट गत मार्च र अप्रिलमा कैयन नेपालीहरुका ज्यान गएका खबर आएपनि पछिल्लो दिनमा भने कोही पनि सिकिस्त भएको खबर आएको थिएन । पछिल्लो समयमा न्यूयोर्कमा रहेका नेपालीहरुमा कोरोना संक्रमण भएका खबर भने उल्लेख्य रुपमा आइरहेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू