बिहीबार, मंसिर २०, २०८१
17:10 | २२:५५

फिलिपिन्सको पर्यटन क्षेत्रमा कोभिड असर, ८ अर्ब डलर राजश्व गुम्यो

रासस–सिन्ह्वा फ्रेब्रवरी ३, २०२१

मनिला, २१ माघ–– कोरोनाभाइरस महामारीका कारण पर्यटन क्षेत्रमा मन्दी आएसँगै फिलिपिन्सको पर्यटन राजश्वमा सन् २०२० मा झण्डै आठ अर्ब ३० करोड डलरभन्दा बढी कमी आएको छ ।

फिलिपिन्सको पर्यटन विभागका अनुसार सन् २०२० मा १३ लाख पर्यटकले मात्र फिलिपिन्सको भ्रमण गरेका थिए । पर्यटन उपसचिव रोबर्टो अलाबाडोले सन् २०१९ को तुलनामा फिलिपिन्समा झण्डै ८० प्रतिशत कम पर्यटक आएको संसदलाई जानकारी दिएका छन् ।

उनले सन् २०१९ मा झण्डै ८३ लाख पर्यटक फिलिपिन्स आएको बताए ।

दक्षिण पूर्वी एसियाली मुलुक फिलिपिन्समा पर्यटकको संख्यामा आएको व्यापक गिरावटका कारण झण्डै ५७ लाख व्यक्ति बेरोजगार भएको पनि अलाबाडोले बताए ।

फिलिपिन्सको तथ्याँक विभागका अनुसार सन् २०१९ मा फिलिपिन्सको अर्थतन्त्रमा पर्यटन उद्योगले करिब १२.७ प्रतिशत योगदान गरेको थियो ।

अर्थतन्त्रमा पर्यटन क्षेत्रको ठूलो योगदान रहेकाले यसको पुनरुत्थानका लागि सरकारले विशेष पहल गर्नुपर्ने खाँचो रहेको पनि उनले औंल्याए ।

कोरोनाभाइरस महामारीका कारण फिलिपिन्स सहित छिमेकी देशहरुमा कडा लकडाउन गरिएका थिए । लकडाउनका कारण मुख्यरुपमा पर्यटकीय गतिविधिलाई व्यापक असर पारेको र ठूलो संख्यामा मानिसहरु अन्यत्र पलायन हुन बाध्य भएका थिए ।

हाल फिलिपिन्सले बिस्तारै देशभित्रको यात्रालाई सहजीकरण गर्न थालेको छ र स्वास्थ्य एवं सुरक्षाका मापदण्ड अपनाएर यात्रा अनुमति प्रदान गर्न थालिएको छ । तैपनि कमै मानिसले मात्र स्वास्थ्य जोखिम लिन चाहेको पाइएको छ ।

लकडाउन र अन्य प्रतिबन्धहरुका बाबजूद फिलिपिन्समा कोभिड–१९ बाट करिब ५ लाख २९ हजार संक्रमित भएका र तीमध्ये १० हजार ८७४ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू