शुक्रबार, वैशाख ७, २०८१
14:45 | १९:३०

कोरोना खोप सबैका लागि उपलब्ध होस्: राष्ट्रसंघ महासचिव गुटेर्रेस

रासस-सिन्ह्वा जनवरी २९, २०२१

जेनेभा । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले विश्व समुदायलाई कोरोनाको खोप सबैलाई सर्वसुलभ हुनुपर्ने भन्ने मान्यतालाई प्राथमिकतामा राख्न आग्रह गरेका छन् ।

उनले यसअघि जस्तै बिहीबार पनि महामारीको चपेटामा परेका विश्वका सबै नागरिकले खोप प्राप्त गर्न पाउनुपर्ने धारणा राखेका हुन् ।

महासचिव गुटेर्रेसले भने, ‘सन् २०२१ को हामी सबैको प्राथमिकता यो हुनुपर्छ कि कोभिड १९ विरुद्धको खोप सबैको प्राथमिकतामा पर्नुपर्छ र यो खोपको सर्वसुलभताका लागि संयुक्त राष्ट्रसंघले पनि आवश्यक वातावरण निर्माण गर्नेछ । अबका कैयौँ महिनासम्म पनि यो प्राथमिकतामा नै पर्नुपर्छ कि यो कोभिड विरुद्धको खोप सबैका लागि एक सार्वजनिक वस्तु बनाउन सक्नुपर्छ र आगामी दिनहरुमा खाँचो परेका नागरिकले सहजै र सुलभ रुपमा यो खोप प्राप्त गर्न पाउनुपर्छ ।’

‘विश्वका केही सीमित देशका हातमामात्र कोभिडको खोप पुगेको छ तर गरिब तथा तेस्रो विश्वका देशहरुमा यो खोपको उपलब्धता अझै पनि गाह्रो देखिएको छ’, उनले थपे । अहिलेकै अवस्थामा विश्वका देशहरुले यसरी नै खोप कब्जा गरेर राख्ने हो भने यसले विश्वकै अर्थतन्त्रमा ९२ खर्ब अमेरिकी डलर बराबरको मूल्यको असर पार्ने उनले बताए ।

महासचिव गुटेर्रेसका अनुसार यसको आधाभन्दा बढी असर त विश्वका प्रमुख विकसित देशहरुमै पर्ने देखिएको छ । त्यसैले खोपको यस्तो अवस्था नल्याउन एउटै देशले धेरै डोजहरु कब्जा नगर्ने र सबैको सार्वजनिक वस्तुका रुपमा उपलब्ध गराउने नीति बनाउनुपर्ने उनले सुझाएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू