सोमबार, वैशाख २४, २०८१
08:43 | १३:२८

लन्डनमा नेपाली सेफ हत्यामा संलग्न युवा जमानतमा रिहा

पोस्टमार्टमबाट मृत्युको कारण स्पष्ट भएन: प्रहरी

नेपाली लिङ्क जनवरी १४, २०२१

लन्डन इष्टकोट ट्रेन स्टेशनबाहिरको घटनास्थल

लन्डन । लन्डनमा गत आइतबार राती भएको एक नेपाली सेफ विक्रम केसीको हत्यामा संलग्न भनेर पक्राउ गरिएका युवा जमानत (बेल) मा रिहा भएका छन् ।

लन्डन इष्टकोट ट्रेन स्टेशनबाहिर सामान्य झगडापछि ज्यानै जाने गरी भएको कुटपिटमा संलग्न ठानिएका ती २१ वर्षीय युवा पक्राउ परेको भोलिपल्टै सोमबार जमानतमा छुटेको लण्डन मेट्रोपोलिटन प्रहरीले जनाएको छ ।

अनुसन्धानमा थप सोधपुछका लागि उनलाई फेब्रुअरी महिनाको शुरुमा हाजिर हुने गरी जमानत दिइएको प्रहरीले बताएको छ ।

आइतबार राती कामबाट फर्किदै गर्दा आफ्नो घरदेखि २ मिनेटको दूरीमा रहेको ट्रेन स्टेशनबाहिर केसी र ती युवाबीच झगडापछि भएको कुटपिटबाट केसीको घट्नास्थलमै मृत्यु भएको थियो । झगडाको कारण सामान्य रहेको हुन सक्ने आँकलन गरिएपनि अझै स्पष्ट भइसकेको छैन ।

पोस्टमार्टमबाट मृत्युको कारण स्पष्ट भएन

प्रहरीका अनुसार पोस्टमार्टम रिपोर्टले समेत केसीको मृत्युको कारण स्पष्ट गर्न सकेको छैन । मृत्युको कारण खोज्न अब थप परीक्षणहरु गरिनेछ ।

घटना भएको भोलिपल्टै सोमबार नै अक्सब्रिज मोर्टुअरीमा पोस्टमार्टम गरिएको प्रहरीले बताएको छ ।

प्रहरीले अहिलेसम्म प्राप्त विवरणअनुसार गत आइतबार राती सवा १० बजे दुई पुरुषबीच इष्टकोट ट्रेन स्टेशनबाहिर झगडा भएको र एक पुरुषको मुक्का प्रहारबाट अर्का पुरुष ढलेर बेहोस बनेको बताएको छ ।

एम्बुलेन्स सर्भिसले खबर गरेपछि साढे १० बजेको समयमा प्रहरी घट्नास्थल पुगेको र बेहोस अवस्थामा रहेका पुरुषलाई बचाउन कोशिस गर्दागर्दै सफल नभएको प्रहरीको भनाइ छ ।

सिसिटिभी फुटेजका लागि प्रहरीको अपील

प्रहरीले घट्नास्थल नजिकैका पसल तथा बासिन्दालाई घट्नाको समयको सिसिटिभी फुटेज उपलब्ध गराएर अनुसन्धानमा सघाउन अपील गरेको छ ।

घट्नाका बेला सोही सडकमा गुड्ने गाडीहरु समेतलाई फुटेज भए उपलब्ध गराउन आग्रह गरिएको छ । विशेषगरी घट्नाकै समय छेउको सडकबाट पास हुने एउटा सानो, रातो रंगको कारका चालकलाई प्रहरीले सम्पर्कमा आएर जानकारी दिन अनुरोध गरेको छ ।

घट्नाका प्रत्यक्षदर्शी वा घट्नाबारे कुनै पनि सूचना हुनेहरुलाई 101 मा टेलिफोन गर्न वा CAD 6317/10 Jan कोट गरी @MetCC लाई मेन्सन गरी ट्वीट गर्न अपील गरिएको छ । त्यस्तै, आफ्नो परिचय गोप्य राखेर कुनै सूचना उपलब्ध गराउन चाहेमा ‘क्राइमस्टपर्स’ लाई 0800555111 मा टेलिफोन गर्न वा crimestoppers-uk.org भिजिट गर्न सकिनेछ ।

यो पनि पढौं : लन्डनमा ३५ वर्षीय नेपाली सेफको हत्या

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू