शुक्रबार, वैशाख ७, २०८१
11:15 | १६:००

बेलायतमा गणचक्रको पूजा गर्दै खेन्चे रिन्पोछेको जन्मोत्सव

नेपाली लिङ्क डिसेम्बर २१, २०२०

लण्डन । बौद्ध धर्म गुरु क्याबजे झोङसार खेन्चे रिन्पोछेका श्रद्धालू भक्तजनहरुले वृहत पूजा आयोजना गरी उनको ६१ औं जन्म दिवस मनाएका छन् । यसै वर्षदेखि नयाँ ल्हो अर्थात् ६१ वर्षको उमेरमा प्रवेश गर्ने क्रममा विश्वभर छरिएर रहेका उनका भक्तजन तथा शुभचिन्तकहरुले सुस्वास्थ्य, दीर्घायू साथै धार्मिक लिला विश्वभर फैलियोस् भन्ने उद्देश्यका साथ सिद्विको श्रोत (भिमालाडुब) साधना विधिद्वारा एक लाख गणचक्रको पुजा (भुमछोक) आयोजना गरी जन्मोत्सव मनाएका हुन् ।

वर्तमान परिस्थितिलाई मध्यनजर राख्दै अल्डरसटस्थित बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) यूकेको गुम्बामा उक्त पूजा गरिएको हो । गत १९ डिसेम्बर देखि २१ डिसेम्बरसम्म आयोजना गरिएको पूजामा विश्वभर रहेका उनका सयौं शुभचिन्तकहरु जुमप्रविधिमार्फत भर्चुअल रुपमा जुटेका थिए ।

बिसीसी यूकेका सल्लाहकार मेजर खुशीमान गुरुङको संयोजनमा सम्पन्न उक्त पूजामा बिसीसी यूकेका धर्म गुरुहरु रिन्पोछे लुङ्गरिक र खेन्पो ञ्यीमाले उनको सुस्वास्थ्यका लागि बौद्ध धर्मअनुसार विभिन्न पूजापाठहरु गरे ।


विशेष गरी फ्रान्स, इटाली, स्पेन, जर्मन, होल्याण्ड, पोल्याण्ड, ग्रीस, रसिया, सिंगापुर, बेलायत लगायत विभिन्न देशमा रहेका उनका शुभचिन्तक तथा भक्तजनहरुले पनि आ–आफ्नो स्थानबाट पूजापाठ गरेका थिए ।

भुटानमा जन्मिएका खेन्चे रिन्पोछेले ७ वर्षको उमेरदेखि सिक्किमको तत्कालिन राजदरवारमा बसेर अध्ययन गरेका थिए भने पछि राजपुरस्थित शाक्य कलेज र युनिभर्सिटी अफ लण्डनमा समेत अध्ययन गरे ।

भारतको हिमाचल प्रदेशको बीर, इष्ट तिब्बत र इष्ट भुटानमा उनले बौद्ध अध्ययन केन्द्र स्थापना गरेका छन् जहाँ थुप्रै विद्यार्थी अध्ययनरत छन् । साथै, कुशल चलचित्र लेखन तथा निर्देशक समेत रहेका उनले आउँदो २६ र २७ डिसेम्बरका दिन ताइवानमा रिन्पोछेले विपसना मेडिटेशन गराउंदै छन् भने सो विपसनाको बिसीसी यूकेका खेन्पो ञ्यीमा गुरुले अनुवाद गर्ने जनाइएको छ ।

उक्त पूजा सम्पन्न गर्न बिसीसी यूकेका अध्यक्ष नरेश गुरुङ, रिन्पोछे लुङ्गरिक, सेराब, खेन्पो ञ्ङिमा, आदी, सल्लाहकार मेजर खुशीमान गुरुङ, मेजर हितमान गुरुङ, बिसीसी युके आमा समूह अध्यक्ष पुष्पा गुरुङ, बिसीसी युके लण्डन ब्रान्च आमा समूह अध्यक्ष अन्तिम गुरुङ, बिसीसी यूकेका पूजा संयोजक आइबहादुर गुरुङ, साना लामा, रामचन्द्र गुरुङ लगायत बिसीसी युकेका सिंगो कार्यसमिति, आमा समूह, भक्तजन तथा शुभचिन्तकहरुले आ–आफ्नो स्थानबाट विशेष भूमिका खेलेका थिए ।

त्यस्तै, बिसीसी यूकेले तमू (गुरुङ) ल्होछारको पावन अवसर समेत बिशेष पूजा आयोजना गर्ने जनाइएको छ । उक्त पूजा समेत भर्चुअल्ली गरिने र सो पूजा फेसबुक लाइभमार्फत देखाइने बिसीसी यूकेले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू