शनिबार, जेठ १, २०७८
19:01 | २३:४६

जीवाको ‘देश देशावर’ लाई नियाल्दा

श्रीमती बोक्ने प्रतियोगिता विजय भए श्रीमतीको तौल बराबरको बियर पाइने

नेपाली लिङ्क डिसेम्बर १६, २०२०

लन्डन । जीवा लामिछानेको दोस्रो नवीनतम कृति ‘देश देशावर’ ले सामाजिक संजालमा मात्र हैन राष्ट्रिय तथा अन्तरराष्ट्रिय मिडियामा पनि निकै हलचल मच्चाएको छ । कोरोना महामारीका कारण विश्व नै अस्तव्यस्त भएर भ्याक्सिन निकाल्ने होडबाजी चलिरहेका बेला सार्वजनिक गरिएको यो पुस्तकले नेपाली साहित्यिक क्षेत्रमा छुट्टै अस्तित्व कायम गरेको देखिन्छ ।

सामान्यतया विगतका वर्षलाई नियाल्ने हो भने दशैं तिहार र त्यसपछिका दिनमा बजारमा नेपाली चलचित्रको निकै चर्चा चल्ने गरेको पाइन्छ । पुस्तक प्रकाशनको दृष्टिकोणले दशैँ तिहार पछिको समयलाई बेमौसमको रुपमा हेरिने गरिन्छ ।

तर, जीवाजीको ‘देश देशावर’ का लागि भने यो नियम लागू भएन । कोरोना संक्रमणका कारण मौन रहेको चलचित्र क्षेत्रको स्थानमा जीवा लामिछानेको ‘देश देशावार’ ले खुबै चर्चा पायो । कलाकार, साहित्यकार, राजनीतिकर्मी देखि देश विदेशमा रहने धेरै नेपालीहरुले किताब पढे, किताबको बारेमा चासो राख्दै सामाजिक संजालमा आफ्ना भावना पोखे ।

मैले पनि किताबको चर्चा चल्ने वित्तिकै चासो राखें, किताब हात पर्यो अनि भर्खर भित्र्याएको बेहुलीलाई जस्तै सर्वत्र नियालें, २० वटा विषयसूचीलाई दुई सय दश पृष्ठमा समेटिएको रहेछ । अनि दुईवटा औंलाले घुम्टो उघार्ने प्रयास गरें ‘लस भेगास: मनोरन्जनको राजधानी’ बाट ।

“सबै चाहना तृप्तिपछिको अनुहार कस्तो हुन्छ ? कसैले तिमीलाई सोध्यो भने देखाइदेऊ आफ्नो अनुहार र भनिदेऊ यस्तो…..”

शुरुमा नै यी हरफहरु राखिएका रहेछन्, करिब पांच मिनेट यिनै हरफहरुमा रुमल्लिए अनि शुरु भयो घुम्टो उघारेपछिको बाँकी कार्य । जुवातास खेलेर टाट पल्टिएर वेखर्ची भएर घर फर्किन नसकेको अवस्थामा पुगेका मानिसको अवस्था देखि सात वर्षको योजना चार वर्षमा नै सम्पन्न गरिएको प्रसंग निकै चाख लाग्दो लाग्यो, त्यसको कारण पनि रहस्यमय नै छ । त्यो योजनामा जुन पुरुषहरुले काम गरेका थिए तिनीहरुका कोहि केटी साथी थिएनन् रे, तेसैले त्यो सम्भव भएको रहेछ । अनि मैले एकछिन घोत्लिएर सोचें के साच्चै हो त ? उत्तरहरु धेरै पाएँ तर, मनमै राख्न उचित ठानें ।

यसपछि फेरी विषय सूचीतर्फ लागें र रोजे ‘१९९७ भर्सेस २०१३’ जसमा हङकङको सेरोफेरो समेटिएको रहेछ । जुनबेला म स्वयं पनि हङकङलाई कर्मथलो बनाउदै संघर्ष गरिरहेको थिएँ । सन् १९९७ जुलाईबाट ब्रिटिश शासित हङकङ आर्थिक तथा प्रशासनिक स्वायत्तता हङकङकै अधिनमा रहने गरि चीनलाई हस्तान्तरण गरियो ।

सन् १९९६ देखि हङकङमा नेपालीहरुको ओइरो लाग्न थालेको हो । शुरुमा हङकङको एअरपोर्टमा नै भिसा उपलब्ध हुन्थ्यो भने पछि धेरै नियम परिवर्तन गरिए र नेपालीहरुले निकै सास्ती खेप्नु पर्यो जुन आफ्नै कारणले । नेपालीहरुले पाएको बहादुरी र इमान्दारीतालाई सही सदुपयोग गरिएको भए शायद यस्तो  अवस्था अवश्य आउने थिएन ।

नेपालीहरुको ठूलो जमघट भएको हङकङ सन् २००६ बाट पातलिंदै गयो । कारण ब्रिटिश नेप्लिज ओभरसिज (बीएनओ) पाएपोर्ट भएकाहरुलाई आवश्यक प्रक्रिया पूरा गरि ब्रिटिश सरकारले बेलायत बस्ने सुविधास्वरूप सम्पूर्ण कागजपत्र त्यहिं नै उपलब्ध गरायो ।

जसको पहिलो लट अर्थात सन् २००६ को उत्तरार्धतिर म स्वयं नै बेलायततिर पलायन भएँ । यसपछि बिस्तारै हङकङबाट नेपालीहरु बेलायततिर प्रस्थान गर्न थाले, फलस्वरूप हङकङमा नेपालीहरुको संख्या निकै पातलो  बन्यो ।

यसपछि अर्को दिन ‘वीरेन्द्र बियरसँग संवाद’ भन्ने शिर्षकलाई चयन गरे । हुन त यसबारेमा पहिले पनि अध्ययन गरिसकेको थिएँ । तर, जुनबेला वीरेन्द्र बियरको चर्चा शुरु भएको थियो तेसकै सेरोफेरोमा म स्वयंले  नियात्राकार जीवाजीसँग जर्मनमा उहाँकै होटल ‘गोथे’मा पुग्ने सौभाग्य पाएको थिएँ ।

कुराकानीमा प्रसङ्ग चल्यो, जीवाजीले मैले नि वीरेन्द्र बियर ल्याएको छु भन्नुभयो र सबैले चाख्ने इच्छा जाहेर गरियो । जुनबेला युरोप अमेरिका लगायत विभिन्न मुलुकका गैर आवासीय नेपालीहरुको जमघट भएको थियो । सबैका हातमा वीरेन्द्र बियरका बोतल थिए । कसैले अन्य बियर भन्दा फरक रहेको अनुभूति पोख्दै थिए ।

‘बोतल चाहिं नफाल्नु है’-जीवाजीको यो भनाइले एउटा नेपाली उखानको याद आयो ‘हिंग नभए पनि हिंग बाँधेको टालो’ । सबै मख्ख हुँदै फेसबुकमा वीरेन्द्र बियरको चुस्की सहितको पोष्ट राख्न थाले तर, यो मामलामा पहिलो त म स्वयं थिएँ । आखिर ‘बिरालो कालो होस् वा सेतो मुसा मारे त भैगो नि’ । यस प्रसंगलाई  मैले यहाँ भन्दा बढी भेद खोल्न चांहिन । यसरी यो अध्याय पढ्दा म स्वयं पनि पात्र भएको महशुस भने पक्कै गरें ।

यतिमात्र हैन बढी कफी पिउने हल्याण्ड होस् या बढी दूध पिउने फिल्याण्ड नै किन नहोस् । श्रीमती बोकेर दौडिने प्रतियोगितामा श्रीमतीको तौल बराबरको बियर पुरस्कार पाउने बियर पारखीले मोटी श्रीमती बोकेर दौडिएको पीडा उत्तिकै रोचक छ । यस्ता थुप्रै रमाइला प्रसङ्गहरु छन् जसका लागि ‘देश देशावर’ लाई अध्ययन गर्नेपर्ने हुन्छ ।

‘देश देशावर’ को घुम्टो उघारेपछि बिस्तारै बिस्तारै समय मिलाएर सबै अंग प्रत्यांग अर्थात सम्पूर्ण आकृतिको नै अनुभूति गर्ने अवसर मिल्यो । अक्षरको माध्यमबाट यस पुस्तकले संसारको अनुभूति गराउने मात्र हैन सम्बन्धित ठाउँको यात्रा ,भूगोल, राजनीति, इतिहास र वर्तमान लगायत क्षेत्रलाई समेत समेटिएको हुँदा यस पुस्तकको पाठकको दायरा पनि थप फराकिलो भएको छ ।

पुस्तकको बीचबीचमा रमाइला भनाइहरुलाई पनि समावेश गरिएको छ ।  जस्तो, ‘तिमी जहाँ जान्छौ, पूर्ण रुपमा मन र मस्तिष्क बोकेर जाऊ । तेस्तो यात्रा मात्र सार्थक हुन्छ ।’  कन्फ्युसियसको यो भनाइ जस्ता थुप्रै सान्दर्भिक प्रसंगहरुले पाठकलाई थप उर्जा थपिदिएको छ  ।

तर, यात्रामा वर्णन गरिएका धेरैजसो विषयवस्तु निकै विलासी देखिएका छन् । जसले गर्दा सम्बन्धित स्थानको गहिराइसम्म पुग्न छुटेको हो कि जस्तो भान हुन्छ । हुन त आफ्ना यात्राका क्रममा लेखिएको दैनिकी अर्थात डायरीलाई संकलन गरेर नियात्रा संग्रहको रुपमा प्रस्तुत गरेको नियात्राकारले स्पष्ट पारिसक्नुभएको छ ।

यद्धपि आगामी शृंखलामा यस्ता क्षेत्रलाई पनि समेट्न सकेमा अझ प्रभावकारी हुनसक्ने देखिन्छ । प्रकाशित दुई पुस्तकहरुमा अक्षरमार्फत देश भ्रमण गराउन खोजिएको छ । आशा छ भविष्यमा आउने सम्भावित नियात्रा संग्रहमा सम्बन्धित मुलुकका सान्दर्भिक तस्विरहरु पनि प्रकाशित हुनेछन् र पाठकहरुले थप अनुभूति महशुस गर्नेछन् ।

जीवाजी आफैमा जति सरल हुनुहुन्छ उहाँको पुस्तकका भावना र शैली पनि उत्तिकै सरल र सहज छन् । जीवाजीसंग म स्वयंले पनि सरसर्ती संसारका क्रममा विभिन्न देश देशावरमा समेत रुमल्लिने अवसर पाएको हुँदा मैले उहाँलाई नजिकबाट नियालेको छु ।

जुन स्थानमा जिवाजीसंग घुमिन्छ त्यो ठाउँको मनोरम दृश्यको मात्र हैन त्यहाँको इतिहास र वर्तमानबारे पनि भुक्तभोगी बनिन्छ । त्यति मात्र हैन उहाँको रुची हरेक क्षेत्रमा भएको हुँदा जो कोहि व्यक्ति पनि सजिलै घुलमिल हुन् सक्छन् ।

चितवन जिल्लाको पदमपुरमा जन्मिएर मस्कोबाट ईन्जिनियरिङ गर्नुभएका जीवाजी हाल जर्मनलाई कर्मथलो बनाएर सफल व्यवसायीको रुपमा परिचित हुनुहुन्छ । साहित्य र समाजसेवा प्रतिको लगाव, झुकाव र योगदान उत्तिकै सह्रानीय छ । अध्ययन, भ्रमण र लेखनमा बढी रुची राख्ने भएका कारण नै उहाँका दुइवटा नियात्रा संग्रह प्रकाशित भैसकेका छन् ।

विक्रम संवत २०७३ सालमा प्रकाशित ‘सरसर्ती संसार’ नामक नियात्रा संग्रह पनि निकै लोकप्रिय रह्यो । जुन पुस्तकको २२० पेजभित्र २९ देशको बारेमा व्याख्या गरिएको छ । पुस्तकको मूल्यांकनको बारेमा राष्ट्रकवि स्व. माधव घिमिरेले भन्नुभएको छ, ‘यो यात्रावर्णन पढ्दा नेपालबाहिरका नेपालीको साहित्य, संस्कृतिप्रति निष्ठा देखेर गदगद हुन्छौं ।’ त्यस्तै पाठकले पनि नियात्राकारसंगै विभिन्न देश आफै पुगेको अनुभूति गर्ने सत्यमोहन जोशीले भन्नुभएको छ ।

गैरआवासीय नेपाली संघका संस्थापक सदस्य तथा पूर्व अध्यक्ष समेत रहिसक्नु भएको जीवा लामिछानेको एनआरएनएमा निकै ठूलो योगदान छ । तेसो त उहाँले नेपालमा पनि सानिमा बैंक, कान्तिपुर टेलिभिजन लगायत जलविद्युत्, अस्पताल र कलेजमा लगानी गर्नुभएको छ । आफ्नै जन्मस्थल पदमपुरका नामबाट ‘पद्मश्री साहित्य पुरस्कार’ र ‘पद्मश्री साहित्य सम्मान’को स्थापना गर्नुभएको छ ।

अध्ययनका क्रममा मस्को पुगेर त्यहाँबाट नै व्यवसायिक यात्रा शुरु गर्दै त्यसैलाई निरन्तरता दिने क्रममा दुईवटा नियात्रासंग्रह प्रकाशित भैसकेका छन् । जसले पाठकलाई घरैमा बसिबसि विभिन्न मुलुकको यात्रा,भूगोल, राजनीति, संस्कृति, इतिहास र वर्तमानलाई अनुभूत गराउन सफल भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू