मंगलबार, ८ सेप्टेम्बर, २०२६
17:15 | २२:००

हिमनदीअघि असाधारण उच्च तापक्रम देखिएको अनुसन्धानकर्ताको विश्लेषण

रासस/एएफपी सेप्टेम्बर ८, २०२६

पेरिस, भदौ २३ गते । भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको हिमाली क्षेत्रमा हिमनदी भत्किनुअघि असाधारण रूपमा उच्च तापक्रम देखिएको मौसमसम्बन्धी तथ्याङ्कको एक विश्लेषणले देखाएको छ ।

अनुसन्धानकर्ताका अनुसार, भदौ ५ देखि १० सम्म करिब पाँच हजार २०० मिटर उचाइमा रहेको हिमाली क्षेत्रमा औसत तापक्रम झन्डै ५ डिग्री सेल्सियस पुगेको अनुमान गरिएको थियो । यो तापक्रम असाधारण रूपमा उच्च मानिन्छ ।

पचपन्न वर्षभन्दा लामो मौसमसम्बन्धी तथ्याङ्कअनुसार, यसअघि सोही अवधिमा तापक्रम कहिल्यै चार डिग्री सेल्सियसभन्दा माथि पुगेको थिएन । यद्यपि, उक्त उच्च तापक्रम र हिमनदी भत्किनुबीच प्रत्यक्ष सम्बन्ध भने अहिलेसम्म स्थापित भइसकेको छैन ।

क्यालिफोर्नियास्थित स्वतन्त्र अनुसन्धान संस्था बर्कले अर्थका प्रमुख वैज्ञानिक रोबर्ट रोहडेले विभिन्न मौसमसम्बन्धी तथ्याङ्कको विश्लेषण गरी उक्त असाधारण तापक्रमको पुनर्निर्माण गर्नुभएको हो ।

उहाँका अनुसार, हिमनदी भत्किएको क्षेत्रमा २०औँ शताब्दीको मध्यदेखि भदौ ५–१० को अवधिमा रेकर्ड गरिएको औसत तापक्रम करिब १.८ डिग्री सेल्सियसले बढेको देखिन्छ ।

जलवायु परिवर्तनका कारण थपिएको तापक्रमलाई अलग गर्ने हो भने, यस्तै तापक्रमको अवस्था केही हजार वर्षमा एकपटक मात्र हुने प्रकृतिको हुन सक्ने रोहडेले एएफपीका लागि गरेको गणनामा उल्लेख गर्नुभएको छ ।

युरोपेली सङ्घको कोपर्निकस जलवायु परिवर्तन सेवाबाट सन् १९७० यताका तथ्याङ्कको विश्लेषण गर्दा पनि लाङटाङ क्षेत्रमा उक्त घटना भएको समय रेकर्डमा रहेको चौथो सबैभन्दा तातो गर्मीको अवधिसँग मेल खाने देखिएको छ ।

सम्भावित ‘टिपिङ पोइन्ट’

फ्रान्सेली जलवायुविद् भ्यालेरी म्यासन–डेल्मोटेका अनुसार, असाधारण गर्मीले पर्माफ्रस्ट पग्लिनुका साथै चट्टानी ढलान र हिमनदीको संयुक्त पतनलाई सम्भावित रूपमा बढावा दिएको हुन सक्छ ।

पर्माफ्रस्टले बरफको ‘सिमेन्ट’जस्तै काम गर्दै चट्टानी संरचनालाई एकसाथ बाँधेर राख्छ । यसको पग्लाइले त्यस्ता संरचनालाई थप अस्थिर बनाउन सक्छ ।

उपग्रहबाट प्राप्त तस्बिरले पनि घटना हुनुअघिका दिनमा उल्लेखनीय रूपमा हिउँ पग्लिएको देखाएका छन् । फ्रान्सको राष्ट्रिय वैज्ञानिक अनुसन्धान केन्द्र (सीएनआरएस)का हिमनदीविद् एटिएन बर्थियरका अनुसार, यसबाट उत्पन्न तरल पानी पहाडका चिरामा प्रवेश गरी पहिरो वा ढलान भत्किन सहज बनाएको हुन सक्छ ।

विज्ञले उच्च तापक्रमले हिमनदी वा पहाड भत्काउन प्रत्यक्ष रूपमा भूमिका खेलेको निष्कर्ष निकाल्न अझै हतार गर्न नहुने बताएका छन् । फ्रान्सको ग्रेनोबल आल्प्स विश्वविद्यालयकी भू–आकृतिविद् क्रिस्टन कुकले तापक्रम बढ्नु र पहाड भत्किनुलाई एउटै मान्न नमिल्ने बताउनुभयो ।

“यदि तापक्रमले ट्रिगरका रूपमा काम गरेको हो भने, चट्टान पतनको निर्णायक बिन्दुमा नपुगेसम्म त्यसको प्रभाव देखिन नहुन सक्छ,” उहाँले भन्नुभयो ।

अनुसन्धानकर्ताले अहिले हिमनदी भत्किनुअघिका वर्षमा पहाडमा देखिएका साना–साना गतिविधि तथा तापक्रममा आएको परिवर्तनबीचको सम्बन्धबारे अध्ययन गरिरहेका छन् ।

रोहडेका अनुसार, पग्लिएको पानी र पर्माफ्रस्ट पग्लिनुका कारण चट्टानको चिरा वा फ्र्याक्चर प्लेन आसपासको संरचना उल्लेखनीय रूपमा कमजोर भएको प्रमाणित हुनु जलवायु परिवर्तनको भूमिकाको बलियो प्रमाण हुन सक्छ ।

उहाँको तापक्रम विश्लेषणमा कोपर्निकस कार्यक्रमअन्तर्गतको जलवायु मोडेल तथा भत्किएको हिमनदीबाट ९ देखि १४० किलोमिटरको दूरीमा रहेका १४ वटा उच्च उचाइका मौसम केन्द्रबाट प्राप्त तथ्याङ्क प्रयोग गरिएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू