शनिबार, वैशाख १५, २०८१
21:47 | ०२:३२

बेलायत र रसियाका वैज्ञानिकहरु कोभिड खोपको अर्को परीक्षणमा

नेपाली लिङ्क डिसेम्बर १३, २०२०

लन्डन । बेलायत र रसियाका वैज्ञानिकहरु अहिले कोभिड विरुद्ध अक्सफोर्ड एस्ट्राजेनेका र स्पुतनिक भीले विकास गरेका खोपलाई समिश्रण गरि यसको प्रभाव पहिल्याउन जुटेका छन् । ति बेग्लाबेग्लै खोपको मिश्रणपछि मानिसलाई कोभिड लाग्नबाट बचाउन सकिन्छ कि भन्ने विश्वासहित बैज्ञानिकहरु परीक्षणमा जुटेका हुन् ।

दुई समान खालका खोप मिसाउंदा यसले मानिसमा 
प्रतिरोधात्मक क्षमता वृद्धि गर्न सक्ने विश्वास छ ।

बीबीसीका अनुसार, रसियामा हुने परीक्षणमा १८ वर्षमाथिका मानिसलाई सहभागी गराउने योजना छ तर परीक्षणमा कति सहभागी हुन्छन् स्पष्ट भइसकेको छैन् । रसियाको गमालिया इन्सटिच्यूटलाई खोप विकास गर्न लगानी गरेको रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फण्डले परीक्षण यही डिसेम्बर अन्त्यसम्ममा शुरु हुने बताएको छ ।

बेलायतस्थित बर्मिङघम विश्वविद्यालयका औषधि विज्ञानका वरिष्ठ उपप्राध्यापक एवं युरोपियन सोसाइटी फर क्लिनिकल फार्मेसीका अनुसन्धान विभाग प्रमुख डा. विभु पौड्याल दुवै खोपको समिश्रण स्थापित मान्यता भएको र यसको परीक्षण सकिन ६ देखि ९ महिना लाग्न सक्ने बताउंछन् । उक्त प्रक्रियाले अहिलेको प्रभावकारितालाई झन् बढावा दिने बताउंदै पौड्यालले भने, ‘एकैखालको भन्दा दुई खालको जीवाणु प्रयोग गर्दा इम्युनिटीले राम्रो काम गर्ने सम्भावना हुन्छ ।’

यो दुवै भ्याक्सिनमा मान्छेमा लाग्ने रुघा र चिम्पान्जीमा लाग्ने रुघाको जीवाणु प्रयोग हुने डा. पौड्यालले जनाए ।

खोपको प्रभाव लामो समयसम्म रहोस् भन्ने सोचले यो प्रक्रिया अपनाइएको उनी बताउंछन् ।

अक्सफोर्डले एस्ट्राजेनेकासंगको सहकार्यमा तयार गरेको खोप सुरक्षित र प्रभावकारी भएको नतिजा द ल्यान्सेट जर्नलमा हालै सार्वजनिक भएको थियो । स्वतन्त्र बैज्ञानिकहरुले अध्ययन गरेको तथ्यांकले कोभिड संक्रमण कम हुनुका साथै बिरामी र मृत्यु हुने जोखिम पनि घटाएको देखाएको छ । अनुसन्धानमा ५५ वर्ष मुनीका सहभागी थिए तर यस खोपले वृद्धवृद्धामा पनि काम गर्ने बताइएको छ ।

करिब दुई साताअघि अन्तरिम परीक्षणको नतिजा प्रकाशित गर्दा अनुसन्धानकर्ताहरुले उक्त खोप समग्रमा ७० प्रतिशत र न्यूनतम ६२ देखि अधिकतम ९० प्रतिशतसम्म प्रभावकारी रहेको बताएका थिए ।

अनुसन्धानकर्मीहरु वृद्धवृद्धामा खोपको प्रभावकारिता कस्तो हुन्छ भन्ने तथ्यांक संकलन गरिरहेका बताइएको छ । यस खोपलाई बेलायतको नियामक निकाय ‘मेडिसिन्स एण्ड हेल्थ केयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी’ (एमएचआरए) ले अनुमति दिन बांकी छ ।

बेलायत सरकारले अमेरिकी कम्पनी फाइजर र यसको जर्मन साझेदार बायोएनटेकले विकास गरेका खोपलाई गत मान्यता दिएर गत मंगलबारदेखि आममानिसमा खोप अभियान शुरु भएको छ । उक्त खोपलाई बेलायतसहित अमेरिका, क्यानाडा, साउदी अरबिया, बहराइन जस्ता देशले पनि प्रयोगको अनुमति दिएका छन् ।

रुसी अधिकारीहरुले स्पुतनिक भी खोप ९२ प्रतिशतभन्दा बढी प्रभावकारी भएको बताएका थिए । उक्त खोप स्वास्थ्यकर्मी, शिक्षकहरु र सामाजिक कार्यकर्तालाई दिन शुरु भइसकेको बताइएको छ । तर, केही पश्चिमा बैज्ञानिकहरुले रसियाले उक्त खोप विकासमा किन हतार गर्यो र यसको प्रभावकारिता कस्तो छ भन्नेबारे प्रश्न उठाएका थिए । यद्यपि रुसले ति नकारात्मक आलोचनालाई अस्वीकार गर्दै आएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू