बिहीबार, वैशाख १३, २०८१
16:23 | २१:०८

सधैंका लागि बेलायत छाडेर नेपाल फर्कंदै डा. बच्चुकैलाश कैनी

नेपाली लिङ्क डिसेम्बर ६, २०२०

लन्डन । बेलायती राजनीतिमा समेत अगाडि बढिसकेका एकजना चर्चित वुद्धिजिवी तथा पूर्व काउन्सिलर डा. बच्चु कैलाश कैनी बेलायत छाडेर मातृभूमि नेपाल फर्कने भएका छन् । लन्डनस्थित क्वीन एलिजावेथ अस्पतालका वरिष्ठ व्यवस्थापक डा. कैनी ललितपुरको हरिसिद्धीमा अवस्थित एक निजी ‘नेपाल क्यान्सर अस्पताल’ मा सिइओ (प्रमुख कार्यकारी अधिकृत) को जिम्मेवारी लिएर नेपाल फर्कन लागेका हुन् ।

२ अर्ब रुपैयां लगानीमा केही वर्षअघि खुलेको उक्त अस्पतालमा कैनीले प्रमुख कार्यकारी अधिकृतका रुपमा सम्झौता गरिसकेको जनाए ।

‘बेलायत आएर केही अध्ययन र अनुभव आर्जन गरिसकेपछि नेपाल फर्कने सोच पहिल्यै थियो । अब छोरीले पढाइ सकिएर कानूनी पेशागत काम शुरु गरेको र छोराको मेडिसिनमा ग्रयाजुएसन हुन १५ महिना जति बांकी रहेकाले हामी बुढाबुढी फर्कने सोच बनाऔं’, उनले नेपाली लिंकसंग भने ।

सन् २००५, अक्टोबरमा बेलायत आए लगत्तै कैनीले बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) मा काम शुरु गरेका थिए । उनी एनएचएसमा सन् २००९ देखि ब्याण्ड ८ तहमा वरिष्ठ व्यवस्थापकका रुपमा काम गर्दै आएका थिए । ग्रीनवीच विश्वविद्यालयबाट अस्पताल व्यवस्थापनमा पिएचडी गरेपछि कैनीले आर्डेन विश्वविद्यालय र ग्रीनवीच स्कुल अफ म्यानेजमेन्टमा स्वास्थ्य व्यवस्थापन विषयको सह-प्राध्यापकका रुपमा समेत काम गरे ।

सन् ०१५ देखि ०१९ सम्म डार्टफोर्ड काउन्सिलको काउन्सिलरका रुपमा काम गरेका उनी सन् २०१७ को बेलायती संसदीय निर्वाचनमा डार्टफोर्ड क्षेत्रका लागि लेबर पार्टीबाट सांसद उम्मेदवार समेत भए ।

‘बेलायतमा आकर्षक पद, तलव-सुविधा, राजनीतिक-सामाजिक छवि हुंदा हुंदै पनि मातृभूमिका लागि केही गरौं भनेर फर्कने सोच बनाएको हो । ढिलो चांडो हामी सबैजना केही ज्ञान, सीप लिएर नेपाल फर्कनुपर्छ भन्ने मेरो मान्यता छ’, उनले भने ।

तर, हिजो शनिबार नेपाल उड्ने कार्यक्रम भने कैनीको कोभिड १९ रिपोर्ट पोजिटिभ आएपछि केही समय लम्बिने भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू