बिहीबार, वैशाख ६, २०८१
18:06 | २२:५१

एनआरएनए यूकेका ४ ‘विद्रोही’ उपाध्यक्षसँग मागियो स्पष्टिकरण

चित्तबुझ्दो स्पष्टिकरण नआए कारवाही अघि बढाइने

नेपाली लिङ्क डिसेम्बर ३, २०२०


लण्डन । एनआरएनए यूकेले आफ्नै संस्थाभित्र विद्रोहमा उत्रिने ४ जना उपाध्यक्षहरुसँग स्पष्टिकरण मागेको छ ।

एनआरएनए यूकेको अघिल्लो कार्यसमितिले अनियमितता गरेको भनिएको आर्थिक मुद्धालाई उठाएर संस्थाविरुद्ध अदालत जाने उपाध्यक्षहरु प्रेम गाहामगर, नारायण कंडेल, मोहन कार्की र रामचन्द्र पोखरेलसंग लिखित स्पष्टिकरण मागिएको एक पदाधिकारीले जानकारी दिए । 

चारैजना उपाध्यक्षले संस्थाको हित विपरित गतिविधिहरु गरेको दाबी गर्दै स्पष्टिकरण मागिएको हो । ३० दिनभित्र स्पष्टिकरण पेश गर्न भनिएको छ ।

स्पष्टिकरण सोध्ने निर्णय गर्ने गत नोभेम्बर १४ को बैठक बसेको ३० दिनभित्र स्पष्टिकरण बुझाउन भनिएको हो । गत मंगलबार उनीहरुलाई पत्र पठाएर स्पष्टिकरण मागिएको हो ।

पत्रमा विभिन्न २० बुंदामा स्पष्टिकरण माग्नुपर्ने कारणहरु उल्लेख गरिएको छ । जसमा लेखा समितिको क्षेत्राधिकारबारे भ्रम छरेको, नेतृत्वमाथि झुटा र गम्भीर आरोप लगाएको, बहुमतको निर्णय नमानेको, आफै पदाधिकारी रहेको संस्थाको वदनाम गराउने गरी अभिव्यक्ति दिएको तथा गतिविधि गरेको लगायतका बुंदाहरु उल्लेख छन् ।  

यसअघि कार्यसमितिको निर्णयअनुसार सहमतिका लागि एक साताभित्र संवादमा आउन आव्हान गरिएपनि दुई सातासम्म पनि उनीहरुबाट कुनै ‘रेस्पोन्स’ नआएपछि स्पष्टिकरणका लागि पत्र पठाइएको एनआरएनए यूकेले बताएको छ ।

तोकिएको समयभित्र चित्तबुझ्दो स्पष्टिकरण नआए संस्थाको विधानअनुरुप कारवाही प्रक्रिया अघि बढाइने भनिएको छ । 

पत्रमा विभिन्न २० बुंदामा उल्लेख स्पष्टिकरण माग्नुपर्ने कारणहरु : 

-गैर-आवासीय नेपाली संघ यूकेको बिधान २००५ (संशोधन २०१७) को अपब्याख्या, वर्तमान कार्यकालको लेखा समितिको क्षेत्राधिकार सम्बन्धि भ्रामक कुरा गर्दै कार्यसमिति तथा समाजलाई गलत सूचना संप्रेषण गरेको, 

-वैठकले पूर्ण बहुमतले निर्णय गरेको कुरालाई स्वेछाचारी प्रवृत्तिबाट चलेको आरोप, नेतृत्व र कार्यसमितिले विधान नमानेको आरोप लगाएको, 

-एनआरएन युकेले स्वतन्त्र छानविनलाई रोकेको आरोप लगाउँदै आफु अनुकुल बिधानको अपब्याख्या गर्दै कुनै एक ब्यक्तिलाई छानबिनको जिम्मेवारी दिन बारम्बार पदको दुरुपयोग गरेको, 

-आफू आबद्ध तथा जिम्मेवार पदमै रहेर पनि एनआरएन यूके संसारभरमा सबै भन्दा अपारदर्शी संस्था हो भन्ने आरोप लगाएको, 

-छद्यभेदी कम्पनीमार्फत कारोवार गरेको संगीन आरोप लगाएको, 

-नेतृत्वले अदृश्य ठाउँमा निर्णय गर्छ र त्यो निर्णय बैठकमा ल्याई निर्णय गराउंछ भन्ने आरोप लगाएको, बिना आधार डेटा तेस्रो पक्षलाई हस्तान्तरण गरिएको, ६ हजार भन्दा बढी डेटा एनआरएन यूकेसंग नभएको भनेर आइसीसी लाई जानकारी गराएको तथा बांकी डेटाहरु (पासपोर्ट आदि) सबै सडकमा भेटिने भन्दै समाजलाई अनाबश्यक उद्देलित गराएको,

-कार्यसमितिका पूर्ण पदाधिकारी र सदस्यहरुको समेत अपमान हुने गरी बैठकले गरेका निर्णयहरुलाई अस्विकार गर्ने सार्बजनिक घोषणा गरेको,

-पूर्ण बैठकको अत्यधिक बहुमतले बनाएको छानबिन समितिलाई मान्यता दिएका छैनौ भन्दै पत्रकार सम्मेलनमा गलत सूचना प्रबाह गरेको । सबै कुरामा बहुमतको निर्णयलाई मान्दैनौ, आर्थिक अनियमितता ढाकछोप गर्न नेतृत्व लागी परेको आरोप लगाएको

-संघको सारा हिसावकिताब हेर्ने जिम्मेवारी अध्यक्ष स्वयंले लिनु भएको भन्ने आरोप लगाएको

-अनलाईन मिडियामा आएको समाचारलाई मुख्य अधार बनाएर आर्थिक घोटालाको आरोप लगाएको । साथै आइसीसीका मानार्थ सदस्य जो पत्रकार समेत छन् उनले लेखेको समाचार, एनआरएन यूकेले हामीलाई भन्दा उहाँलाई सबैभन्दा बढी विश्वास गर्छ भन्ने संगीन आरोप लगाएको

-बैठकमा असहमति लेख्ने समाचार प्रकाशित गर्नेलाई कारवाही गर्ने धम्की दिएको भन्ने गलत आरोप लगाएको,

-चुनावी पोस्टर देखाएर अध्यक्ष पुनम गुरुङ र निवर्तमान अध्यक्ष योग फगामीको फोटो संगै राखेर चुनावी तालमेलसंग जोडेर पुनम गुरुङको योग्यता नभएको जिकिर, एनआरएनको पैसा पोस्टर छाप्न प्रयोग भएको, डाटा र ढुकुटी बोकेर योग फगामी पुनम गुरुङसंग चुनावी तालमेल गरेको जस्तो संगीन आरोप लगाएको। सोही प्रक्रिया मानेर निर्वाचित भएर आइसकेपछि पनि तत्कालिन निर्वाचन आयोगको स्वतन्त्रता माथि प्रश्न खडा गरेको

-कार्यसमितिले निर्णय गरेर नियुक्त गरेको जाँचबुझ समितिको  संयोजकमाथि वदमासी प्रमाणित गर्ने एजेन्ट भन्दै अनैतिक पेशागत मर्यादा विपरित लान्छना लगाएको

-आफै बसेर बुझ बुझारथ गरेको कुरालाई समेत अस्विकार गरेको, ४ मार्चको पत्रकार सम्मेलनमा आर्थिक अनियमितता भएको आरोप लगाउनु को साथै कार्यक्रमको ठिक १ दिन अघि संस्थालाई बदनाम गराउने उधेश्यले सूचनाहरु सार्बजनिक संप्रेषण गरी कार्यक्रम भाड्ने प्रयास गरेको । केन्द्रीय अध्यक्ष आउनु हुंदा केही उच्छृंखल ब्यक्तिहरुलाई कालो झण्डा देखाउने कार्यलाई सहयोग पुग्ने गरी बाताबरण बनाएको ।

-कार्यसमितिमा कुनै कुराको जानकारी नपाएर लिगल नोटिस मार्फत जानकारी माग्न गएको भन्ने भ्रामक कुरा गरेको

-बैठकमा बोल्न नदिने र निकाल्ने काम भयो भन्ने जस्ता सरासर झुट्ढा आरोप लगाएको

-सदस्यता शुल्कको चुनाबी प्रयोजनका लागि दुरुपयोग गरेको भन्ने झुट्टा आरोप लगाएको

-कोषाध्यक्षको आर्थिक प्रतिवेदन बैठकमा प्रस्तुत भईसकेपछि हिसाब किताब हेर्न नदिएर लुकाईयो भन्ने आरोप लगाएको

-एनआरएन केन्द्र मातहतको एनसीसीको पदाधिकारी भएर संसारमै आफुहरुलाई विश्वास नभएको कुनै निकाय छ भने त्यो आईसीसी हो, आईसीसीप्रति कुनै विश्वास छैन भनाई सार्वजनिक रुपमा भनेको, आईसीसीले एजेन्ट लाई प्रयोग गरेर हामीलाई काम गर्न दिदैन भन्ने गलत आरोप लगाएको र संघमा गलत व्यवस्थापन गर्नको लागि मान्छे खटाउने आरोप आईसीसी नेतृत्वमाथि लगाएको ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू