बिहीबार, वैशाख १३, २०८१
09:31 | १४:१६

फाइजरद्वारा कोभिड खोप प्रयोगका लागि आवेदन, यूकेको ४ करोड अर्डर

रासस-एएफपी नोभेम्बर २१, २०२०


वासिङ्टन, ६ मङ्सिर–अमेरिकी औषधि कम्पनी फाइजर र उसको जर्मनी सहयात्री वायोएनटेकले कोभिड–१९ विरुद्ध बनाएको खोप प्रयोगका लागि अनुमति माग्दै अमेरिकामा स्थानीय समय अनुसार शुक्रवार आवेदन दिएका छन् । उक्त खोप प्रयोग गर्न सुरक्षित छ कि छैन् भन्ने निर्णय अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए) ले गर्नेछ ।

एफडिएबाट अनुमति प्राप्त गरेमा औषधिको प्रयोगका लागि सुरक्षित मानिने छ । उक्त खोपको परीक्षणसम्बन्धी तथ्याङ्क अध्ययनका लागि एफडीएले कति समय लगाउँछ भन्ने स्पष्ट छैन् । यद्यपि अमेरिकी सरकारले डिसेम्बर महिनाको मध्यसम्ममा खोपलाई स्वीकृति दिने अपेक्षा गरिएको छ ।

अन्तिम चरणका परीक्षणका तथ्याङ्कले ६५ वर्ष उमेरमाथिका मानिसलाई खोपले ९४ प्रतिशत जोगाउने देखाएको छ । यूकेले उक्त खोपको चार करोड मात्रा मगाइसकेको छ । जुन महिनायता पहिलोपटक त्यहाँ एकै दिनमा दुई हजारभन्दा बढीको मृत्यु भएको थियो । यदि एफडीएले डिसेम्बरको आधासम्ममा स्वीकृति दियो भने फाइजर र बायोएनटेक ‘केही घण्टाभित्रै खोप वितरण गर्न तयार’ भएको उनीहरूले बताएका छन् ।

विश्वव्यापी महामारी बनेर फैलिएको यो कोरोनाभाइरसको आनुवांशिक संरचना थाहा भएको १० महिनामै खोप विकासको यो कामलाई ठूलो उपलब्धि मानिएको छ । फाइजरका प्रमुख कार्यकारी अधिकृत अल्बर्ट बुर्लाले आकस्मिक प्रयोगका लागि दिइएको आवेदन ‘विश्वलाई कोभिड–१९ को खोप दिने यात्रामा यो एउटा कोसेढुङ्गा’ भएको टिप्पणी गरे । सुरुमा खोपको मात्रा अपर्याप्त हुने हुँदा सेन्टर्स फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्शन (सीडीसीपी) ले कसलाई पहिला दिने भन्ने निधो गर्नेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू