शनिबार, वैशाख ८, २०८१
20:07 | ००:५२

युगान्डाको हिंसात्मक प्रदर्शनमा १६ जनाको मृत्यु

रासस–एएनआई नोभेम्बर २०, २०२०

कम्पाला । पूर्वी अफ्रिकी मुलुक युगान्डाको राजधानी कम्पालामा बुधबार भएको हिंसात्मक प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १६ जना पुगेको छ । 

राष्ट्रपतिका विपक्षी उम्मेदवार रोबर्ट क्यागुलानीलाई गिरफ्तार गरेको विरोधमा भएको प्रदर्शनले हिंसात्मक रुप लिएपछि प्रदर्शनमा उत्रिएका व्यक्तिहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरी स्वास्थ्य सेवाका निर्देशक मोजेज ब्यारुहांगाले मुलागो राष्ट्रिय अस्पतालमा उपचार गराइरहेकामध्ये १६ जनाको मृत्यु भएको जानकारी दिए । उनले मृतकमध्ये एक जना महिला रहेको बताए । 

उनीहरुलाई गोली लागेको तथा अश्रुग्यासबाट श्वास फेर्न कठिनाई भएको निर्देशक मोजेजले बताए । 

अस्पतालका उपनिर्देशक रोजमेरी ब्यानयीमाका अनुसार अस्पतालमा ४६ जना घाइते भर्ना भएका छन् । 

देशका विभिन्न भागमा भएका प्रदर्शनमा अरु पनि कैयौं व्यक्ति घाइते भएको प्रहरीको भनाइ छ । यसर्थ घाइते र मृतकको संख्या अरु बढ्न सक्ने प्रहरी प्रवक्ता प्याट्रिक ओन्याङ्गोले बताए । 

युगान्डाको राष्ट्रिय चुनाव आयोगले यसै महिनाको शुरुमा आगामी राष्ट्रपतिको चुनावमा ११ जना उम्मेदवारको नाम सार्वजनिक गरेको थियो । चुनावमा वर्तमान राष्ट्रपति योओरी मुसेभेनी पनि रहनु भएको छ । युगान्डामा सन् २०२१ मा राष्ट्रपतिको चुनाव हुँदैछ । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू