बुधबार, जेठ २, २०८१
02:03 | ०६:४८

अमेरिकामा कोभिड–१९ बाट दुई लाख ५० हजार बढीको मृत्यु

रासस-एएफपी नोभेम्बर १९, २०२०

न्यूयोर्क । अमेरिकामा कोभिड–१९ सङ्क्रमित दुई लाख ५० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । अमेरिकामा बिहीबारसम्म कोभिड–१९ सङ्क्रमितमध्ये दुई लाख ५० हजार ४२६ व्यक्तिको मृत्यु भएको छ भने बुधबार एकै दिनमा एक लाख ५७ हजार ९५० जना थप व्यक्ति सङ्क्रमित भएका जोन हकिन्स विश्वविद्यालयले बताएको छ ।

अमेरिकी राज्यहरू र शहरले कोभिड सङ्क्रमण दरमा नियन्त्रण नआएपछि नियन्त्रणका पुराना तथा नयाँ उपायलाई अभ्यासमा ल्याउने बताएका छन् ।

कोभिड–१९ सङ्क्रमणमा पुनः वृद्धि देखिएपछि अमेरिकी शहर न्यूयोर्कस्थित विद्यालयहरू बन्द गरी सङ्क्रमण नियन्त्रण गर्ने अन्य उपायसमेतलाई अवलम्वन गर्न थालिएको छ ।

न्यूयोर्कका नगरप्रमुख बिल डे ब्लासियोका अनुसार शहरमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या पुनः बढ्न थालेपछि शहरमा रहेका करिब एक हजार ८०० विद्यालय बन्द गरिएको छ । ती विद्यालयहरूले दूर शिक्षालाई बिहीबार देखि नै अभ्यासमा ल्याएका छन् ।

नगर प्रमुख ब्लासियोले भने, ‘हामीले कोभिड–१९ को दोस्रो लहरविरुद्ध लड्न जरुरी भएको छ ।’

अमेरिकी औषधि कम्पनी फाइजरले विकास गरेको खोपले ९४ प्रतिशत विरामीमा सकारात्मक नतिजा दिएको भन्ने खबरबाट आशावादी बनेका अमेरिकीहरूलाई अमेरिकाको सबैभन्दा बढी जनघनत्व रहेको न्यूयोर्क शहरमा नियन्त्रणका लागि विद्यालय बन्द गर्ने नीतिपछि थप सशङ्कित बनेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू