शनिबार, वैशाख १५, २०८१
02:55 | ०७:४०

लगानी बोर्डद्वारा ३८ अर्बको विदेशी लगानी स्वीकृत

रासस नोभेम्बर ११, २०२०

फाइल तस्विर

काठमाडौं  लगानी बोर्डले तीन ठूला जलविद्युत् परियोजनाका लागि रु ३८ अर्ब बराबरको विदेशी लगानी स्वीकृत गरेको छ ।

बोर्ड अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार बसेको बोर्डको ४५ औँ बैठकले तीन ठूला परियोजनाका लागि रु ३८ अर्ब ६८ करोड बराबरको लगानी स्वीकृत गरेको हो ।

सार्वजनिक निजी साझेदारी अवधारणामा कार्यान्वयन हुने ७७ दशमलव ५ मेगावाट क्षमताको घुन्साखोला जलविद्युत् परियोजनाका लागि रु १७ अर्ब ६२ करोड ४० लाख बराबरको विदेशी लगानी स्वीकृत गरिएको बोर्डका प्रवक्ता धर्मन्द्रकुमार मिश्रले जनाकारी दिए  । उनका अनुसार ५७ मेगाावाटको हिमचुली दोर्दी जलविद्युत् परियोजनाका लागि रु १० अर्ब ६१ करोड ९१ लाख र ६५ मेगावाटको दूधखोला जलविद्युत् परियोजनाका लागि रु दश अर्ब ४३ करोड ६० लाख लगानी स्वीकृत भएको हो ।

यसैगरी उक्त बैठकमा लगानी बोर्ड कार्यालयको क्षमता अभिवृद्धि तथा संस्थागत विकासका लागि परियोजना बैंक र विभिन्न सरोकार निकायसँग परामर्श गरी बोर्डको रणनीतिक योजना तयार गर्नेबारे छलफल भएको थियो ।

लगानीकर्तालाई एकल विन्दु सेवा केन्द्रद्वारा सहज र शीघ्र सेवा प्रदान गर्न उक्त केन्द्रलाई स्वचालित बनाउने तथा ‘नलेज म्यानेजमेन्ट पोर्टल’ को स्थापना तथा उपयोग गर्ने विषयमा समेत छलफल भएको मिश्रले जानकारी दिए 

बोर्डका अध्यक्ष प्रधानमन्त्री ओलीले बैठकमा कोभिड–१९ ले नयाँ शिक्षा दिएको बताउँदै परियोजना कार्यान्वयनमा भइरहेको विलम्ब हटाउन नयाँ प्रविधिको आवश्यकता भएको बताएका थिए । उनले कोरोनाका कारण बोर्डको बैठक नियमित बस्न असहज भए पनि आगामी दिनमा नियमित हुने जानकारी दिए 

बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले बोर्डमार्फत प्रवर्द्धन  र सहजिकरण भएका परियोजना कार्यान्वयनको अवस्था र बोर्डका गतिविधिबारे जानकारी गराएका थिए । भट्ट सिइओ नियुक्ति भएपछि बोर्डको पहिलो बैठक मंगलबार बसेको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू