शुक्रबार, चैत १६, २०८०
06:12 | ११:५७

अमेरिकी चुनावः वाइडेनको चम्किएला भाग्य ?

नवीन रायमाझी अक्टोबर १६, २०२०

तस्बिर एएफपी

सयुंक्त राज्य अमेरिकामा आगामी नोभेम्बर ३ 
तारिख हुने ४६ औं राष्ट्रपतीय चुनावबारे अमेरिकामा मात्र होइन्, सम्पूर्ण विश्वभरि नै चासो, वहस र अड्कलबाजी हुने गरेको छ । प्रत्येक ४ वर्षमा हुने 
राष्ट्रपतिको चुनावमा यो वर्ष रिपब्लिकन पार्टीबाट वर्तमान राष्ट्रपति डोनाल्ड जे. ट्रम्पले उम्मेदवारी दिएका छन् भने उनको प्रतिस्पर्धामा डेमोक्रेटिक पार्टीबाट जोसेफ आर. वाइडेन चुनावी मैदानमा छन् । व्यक्तित्वको आधारमा एक सय ८० डिग्रीको असमानता भएका यी दुई प्रतिष्पर्धीमध्ये ट्रम्प विशुद्ध ब्यापारी हुन् भने वाइडेन निकै लामो समय देखि राजनीति मात्र गर्दै आएका छन् । उनी सन् २००८ देखि २०१६ सम्म लगातार २ अवधि राष्ट्रपति रहेका बाराक एच. ओबामाका सहकर्मी उपराष्ट्रपति हुन् । उपराष्ट्रपतिको पदमा चुनिनुभन्दा पहिले उनले करिब ३६ वर्ष (सन् १९७३–२००९) आफ्नो गृहराज्य डेलावेरबाट संघीय संसदको माथिल्लो सदन फेडरल सिनेटमा प्रतिनिधित्व गरेका थिए । त्यस्तै वर्तमान राष्ट्रपति ट्रम्प स्त्री लम्पट, समय समयमा विवादास्पद अभिव्यक्ति दिने र अहंकारी छन् भने वाइडेन शान्त, शालीन र जनाधार भएको नेतामा पर्छन् । साथै ट्रम्प सामाजिक सन्जाल ट्वीटरमा पनि सक्रिय छन् तर उनको तुलनामा वाइडेन त्यति सक्रिय देखिंदैनन् ।

राष्ट्रपति निर्वाचन जित्न यो वर्ष करिब १५ करोड ३० लाख (सन् २०१८ को तथ्याङ्कअनुसार) मतदाताले दिने प्रत्यक्ष मत (पपुलर भोट) ले मात्र नभएर देशका ५० वटै राज्यमा वितरण गरिएको कुल पांच सय ३८ इलेक्टोरल कलेज भोटको पनि बहुमत (कमसेकम दुई सय ७० मत) प्राप्त गर्नैपर्ने हुन्छ । अघिल्लो चुनावमा पपुलर भोट बढी आउंदा पनि इलेक्टोरल भोटले पछि परेकी डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टन पराजित भएकी थिइन् ।

चुनावमा कसको जित वा हार होला भन्ने विषयलाई लिएर भएका विभिन्न अड्कलबाजी र मत सर्वेक्षण अनुसार हालसम्म डेमोक्रेटिक पार्टीका उम्मेदवार वाइडेन वर्तमान राष्ट्रपति ट्रम्पभन्दा झिनो प्रतिशतले भए पनि अगाडि छन् । यद्यपि यस्ता सर्वेक्षण अपवादको रुपमा धेरै पटक उत्तानो परेको अर्थात असफल भएको उदाहरण नभएको होइन् । तर पनि मत सर्वेक्षक कम्पनी, सञ्चार समूह र विश्वविद्यालयका अनुसन्धान संस्थानले गरेको यस्तो खाले मत सर्वेक्षण विश्वासिलो मानिन्छ र अधिकांश समयमा यस्ता सर्वेक्षणको नतिजा सकारात्मक नै हुन्छन् । साथै अर्को मत के पनि छ भने यस्ता खाले मत सर्वेक्षण हरुमा रिपब्लिकनहरु समावेश नहुने र डेमोक्रयाटिकहरु मात्र समाबेस हुने कारण यस्ता मत सर्वेक्षणहरु एक पक्षीय हुन्छन् ।

लेखक नवीन रायमाझी

आप्रवासीप्रतिको अनुदार नीति, अश्वेत नागरिकप्रति असमान ब्यवहार, स्त्रीलम्पट स्वभाव, सामाजिक सन्जालमा दिने गैर जिम्मेवार अभिब्यक्ति र बहुमत सांसदविरुद्ध गर्ने बहुलठ्ठी निर्णयहरुका कारण राष्ट्रपति ट्रम्प सधैं विवादमा रहंदै आएका छन् । साथै कोभिड १९ महामारीलाई हल्का रुपले लिनु र बिज्ञहरुलाई अपमान गर्नु जस्ता क्रियाकलापले पनि हाल वर्तमान राष्ट्रपति ट्रम्पको लोकप्रियता खस्केको छ । तर यसको विपरित अर्का उम्मेदवार बाइडेन चारित्रिक रूपमा पनि सफा र कहिले विवादमा नआउने नेता हुन् । यस्तै यस्तै कारणले पनि उनी आगामी चुनावमा पराजित हुनसक्ने विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।

आफ्नो दोहोरो मानसिकताको कारण पनि वर्तमान राष्ट्रपति ट्रम्प सधैं विवादमा रहन्छन् । उदाहरणका लागि चेन माइग्रेसन (छोरा छोरी नागरिक भयो भने बाबु आमा र बाबु आमा नागरिक भयो भने छोरा छोरी स्वतः नागरिक हुने नियम) को कट्टर विरोधी वर्तमान ट्रम्पको सासु र ससुराले यसै नियमको आधारमा अमेरिकाको ग्रीन कार्ड लिएका हुन् ।

तर यति हुंदा हुंदै पनि चुनावमा विजयी हुन प्राथमिक निर्वाचनले महत्वपूर्ण भूमिका खेल्ने कारणले हार र जित यसकै हुन्छ भनेर कठिन हुने अर्का थरी विश्लेषकहरुको विचार छ । उनीहरुका अनुसार यो वर्ष रिपब्लिकनहरु एकजुट भएको र डेमोक्रयाटिक हरु विभाजित भएका कारण वर्तमान राष्ट्रपति ट्रम्प नै दोहरिने छन् । साथै अमेरिकी राष्ट्रपतिको चुनावमा अपवादको रुपमा मात्र नदोहरिने कारणले ट्रम्प नै विजयी हुने निश्चित छ ।

यी माथिका अनुमान पंक्तिकारको निजी विचार हो । पंक्तिकार राष्ट्रपतिको चुनावमा भोट दिने हैसियत नराख्ने भएकोले यसलाई यही रूपमा लिनु हुन आदरणीय तथा प्रवुद्ध पाठकवर्गमा विनम्र अनुरोध छ । अब चुनावमा कसको विजय वा पराजय हुन्छ त्यसको लागि नोभेम्बर ४ तारिखसम्म कुर्नुपर्ने हुन्छ । तर, आजसम्मको चुनावी माहौल आंकलन गर्दा डेमोक्रेटिक पार्टीका उम्मेदवार वाइडेन राष्ट्रपति ट्रम्पभन्दा झिनो अन्तरले भए पनि अगाडि छन् ।

(लामो समयदेखि पत्रकारितामा आवद्ध रायमाझी हाल अमेरिकामा छन् )

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू