शुक्रबार, वैशाख ७, २०८१
08:09 | १२:५४

२०७६ सालको पद्मश्री पुरस्कार र पद्मश्री साधना सम्मान घोषणा

पद्मश्री र पद्मश्री साधना सम्मानको राशी तीन लाख रुपैयाँ

नेपाली लिङ्क सेप्टेम्बर २६, २०२०

लन्डन । खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानद्वारा वि.सं. २०७६ सालको पद्मश्री पुरस्कार र पद्मश्री साधना सम्मान घोषणा गरिएको छ । वि.सं.२०७६ सालको पद्मश्री साहित्य पुरस्कार समालोचक तथा उपन्यासकार सञ्जीव उप्रेतीको उपन्यास ‘हंस’ लाई प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ ।

‘हंस’ उपन्यासमा लेखकले मानिसद्वारा निर्मित देश, कानुन तथा संस्कारले प्रेम र सम्बन्धमा बनाएको जटिलता अनि त्यसले मानिसलाई नै कसरी थिचिरहेछ र बोझ बनाइरहेछ भन्ने कुरा प्रकृति तथा हाँसको कथासँग जोडेर स्वैरकाल्पनिक शैलीका माध्यमबाट प्रस्तुत गरेका छन् ।

त्यस्तै यस वर्षको पद्मश्री साधना सम्मान  साहित्यकार मोदनाथ प्रश्रितलाई प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ । उनले विगत छ दशकदेखि नेपाली काव्य, निबन्ध, नाटक, आख्यान, समालोचना तथा संस्कृति लेखनका माध्यमबाट समाज रुपान्तरण तथा राष्ट्रिय एकतामा महत्वपूर्ण योगदान पुर्याएका छन् ।

प्रश्रित  पूर्वीय दर्शन तथा मार्क्सवादी विचारलाई वैज्ञानिक र वस्तुवादी ढङ्गले विश्लेषण गरी विश्व मानवता र बन्धुत्व जगाउने लेखक हुन् ।

खेमलाल-हरिकला लामिछाने प्रतिष्ठान चितवनले वि.स. २०६३ सालदेखि नेपाली साहित्यका वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठहर्याएको पुस्तकलाई प्रत्येक वर्ष पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आएको छ ।

त्यस्तै वि.सं.२०६७ सालदेखि प्रतिष्ठानले साहित्य, कला, सङ्गीत, अभिनय आदि क्षेत्रमा दीर्घ साधना गर्ने वरिष्ठ साधकलाई पद्मश्री साधना सम्मान अर्पण गर्दै आएको छ ।

पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मानको राशी तीन लाख रुपैयाँ छ । दुवै सम्मान तथा पुरस्कार प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको दिन अर्पण गरिँदै आएकोमा यस पटक विषम परिस्थितिका कारण यसै वर्षभित्र अनुकूल समयमा अर्पण गरिने प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन्  ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू