शुक्रबार, चैत १६, २०८०
14:20 | २०:०५

आफ्नो मिसन र भिजनमा अविचलित भएर लागि रहने सगुनको अठोट

नेपाली लिङ्क सेप्टेम्बर २१, २०२०

लन्डन । अमेरिकामा मुख्यालय रहेको सोसल इकमर्श कम्पनी सगुनका संस्थापकहरुले आफ्नो मिसन र भिजनमा कत्ति विचलित नभइ अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

पछिल्ला केही दिनयता सगुनविरुद्ध विभिन्न भ्रम फैलाइएको भन्दै उनीहरुले लगानीकर्तालाई त्यस्ता आधारहीन समाचारमा विश्वास नगर्न पनि अपिल गरेका छन् ।

आइतबार विश्वभरका लगानीकर्ता, मिडियाकर्मी, शुभचिन्तक समेत एकसय २० भन्दा बढी सहभागीमाझ जुम वेबीनार अन्तरक्रिया गर्दै सगुनका संस्थापक एवं सहसंस्थापकहरुले कम्पनीको हालसम्मका प्रगति र भावी योजनाबारे प्रष्ट्याए ।

उक्त अवसरमा सगुनका संस्थापक गोविन्द गिरीले आफ्नो मिसन र भिजनमा निरन्तर लागिरहने प्रतिवद्धता व्यक्त गरे । ‘मैले सन् २०१४ मा पेन्टागनको जागिर छोड्दा न्यापकिनमा लेखेको आइडिया थियो । हाफ अ मिलियन डलर जुटाएर  कम्पनी शुरु गरेका थियौं’, उनले स्मरण गरे, ‘अहिले ५ मिलियन प्लस फण्ड रेज गरिसकेका छौं । ४१ सय लगानीकर्ता छन्, १८ जना टिम सदस्य छन् । नेपाल, भारत र अमेरिकामा अफिस छ, तसर्थ हामी धनी नै छौं ।’

सन् २०१७ देखि ‘क्राउड फण्डिङ’ लन्च गरिएको जनाउंदै संस्थापक गिरीले प्राइभेट र स्टार्टअप कम्पनीले शुरुका वर्ष अलिक संघर्ष गर्नुपर्ने र यसको प्रतिफल दश वर्षसम्म पर्खनुपर्ने हुन सक्ने बताए । ‘शुरुवातमा ६ लाख प्रयोगकर्ता थिए हामीसंग । अहिले ८१ लाख बढी छन् । यो एक हजार प्रतिशत प्रगति हो । प्रविधि विस्तारमा धेरै खर्च गरेका छौं, नयां फिचर, प्रडक्ट्स आउंदैछन्’, उनले भने, ‘म सबैलाई धैर्य रहन अपिल गर्दछु । केही मिडियाको भ्रामक समाचारमा विश्वास नगर्नुहोला ।’  

लगानीकर्ताको लगानी जोखिममा राखेका छैनौं’

सगुनका सहसंस्थापक कविन सिटौलाले जुन मिसन लिएर सगुन स्थापना गरिएको थियो, त्यसमा कटिवद्धताका साथ अगाढि बढ्ने प्रण गरे । ‘हाम्रो ज्ञान, क्षमताले भएसम्म लगानीकर्ताको लगानी जोखिममा राखेका छैनौं’, उनले भने, ‘कम्पनी घाटामा गयो भन्ने समाचार आयो । स्टार्ट अप कम्पनीको ब्यालेन्स सिट अरु भन्दा फरक हुन्छ । म पत्रकार मित्रहरुलाई अलिक बुझेर लेखिदिन आग्रह गर्छु ।’

स्थापनाकालताका ६ लाख प्रयोगकर्ता रहेकामा अहिले ८१ लाख बढी प्रयोगकर्ता हुनुले सफलताको मापदण्ड निर्धारण गरेको पनि सिटौलाले बताए । ‘हामी उत्साहित छौं । २०१७ मा मिनी आइपिओको अनुमति पायौं । ८० वर्ष पछि आएको नियम अमेरिकामा पनि सबैका लागि नयां थियो । हामीले चुनौति लिएर नेपाल र नेपालीलाई समृद्ध बनाऔं, प्रविधि सिकौं भन्ने लक्ष्य राखेर स्टार्टअप कम्पनी शुरु गरियो’, उनले भने, ‘हामीले २०२३ मा आइपिओमा जाने आधार बनाइरहेका छौं । यो अप्ठ्यारो अभियान हो, तर सफल हुन्छ । नेपाली समुदाय हाम्रो परिवार, आस्था र भरोसा हो । हामीलाई समुदाय र मिडियाको सहयोगको अत्यन्त खांचो छ ।’

सगुनकी सहसंस्थापक एवं इण्डिया अपरेसन्स हेड स्वाती दयालले सगुनका प्रोडक्ट्सबारे जानकारी दिंदै यसका प्रयोगकर्ता कसरी लाभान्वित हुन्छन् भन्नेबारे जानकारी दिइन् । उनले सगुनले सेप्टेम्बरभित्रै मुड टक, च्याटिङजस्ता फिचर ल्याउने तयारी अन्तिम अवस्थामा पुगेको जानकारी दिंदै यसबाट आफूहरु अति उत्साहित भएको बताइन् ।

कार्यक्रम संयोजन गरेका सगुनका ग्लोबल कोअर्डिनेटर बेलायतस्थित समाजसेवी सूर्य गुरुङले शुरुमा आफू सगुनबारे  अनभिज्ञ रहेपनि पछि बुझ्दै जांदा प्रवासी नेपालीले सञ्चालन गरेको स्टार्ट अप कम्पनी र यसको भविष्य देखेर पूर्ण विश्वासका साथ लागिपरेको बताए । उनले सगुनमा बेलायती नेपाली समुदायको सहयोगप्रति आभार व्यक्त गर्दै केही मिडियाका नकारात्मक समाचारले हतोत्साही नहुन आग्रह गरे ।

सगुनका नेपालस्थित कन्ट्री म्यानेजर आनन्द बज्राचार्यले नेपालमा सगुनप्रयोगकर्ता वृद्धिबारे अवगत गराए । उनले आफू कम्पनीमा आवद्ध भएपछि तीनमहिनाको अवधिमा नेपालमा सगुन प्रयोगकर्ता ३७१ प्रतिशत वृद्धि भएको र ७ औं रयांकमा रहेको जनाए । बज्राचार्यले सरदर दैनिक २० हजार प्रयोगकर्ता बढेको जानकारी दिए । नेपालमा सगुनको बजार प्रवर्धन र वर्तमान एवं भावी योजनाबारे जानकारी दिंदै उनले धेरे फिचर र प्रोडक्ट्स लञ्च हुन लागेकाले नेपालमा टिम वृद्धि गर्ने सोच रहेको पनि बताए ।  

सगुनलाई बेलायतवासी नेपालीको साथ’

एनआरएनए यूके अध्यक्ष पुनम गुरुङले आफूले सगुनको भविष्य राम्रो देखेकाले अन्य गैर आवासीय नेपालीहरुलाई पनि सहभागी भइ अपनत्व लिन सुझाइन् । मिडियामा केही दिन यता आएका समाचार कसैले नपत्याएको बताउंदै उनले सगुनमा बेलायतवासी नेपालीको साथ सहयोग सधैं रहिरहने प्रतिवद्धता जनाइन् ।

अध्यक्ष गुरुङले आफू उपाध्यक्ष रहेका बेला सगुनले आफ्नो एक लाख डलर मूल्य बराबरको शेयर एनआरएनए यूकेको नेपाल हाउस प्रोजेक्टलाई प्रदान गर्ने घोषणा गरेको स्मरण गर्दै संघ च्यारिटीमा दर्ता भएपछि यसको प्रक्रिया अगाडि बढ्ने विश्वास पनि व्यक्त गरिन् ।

सगुनका युरोप कोअर्डिनेटर युवराज सेढाईंले स्वागत गरेको कार्यक्रममा कम्पनीका संस्थापक र सहसंस्थापकहरुले लगानीकर्ता र मिडियाका विभिन्न जिज्ञासाहरु मेटाएका थिए । प्रत्यक्ष साक्षात्कारका कारण धेरै भ्रम निवारण भएको लगानीकर्ताको टिप्पणी थियो ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू