बिहीबार, वैशाख ६, २०८१
04:51 | ०९:३६

कोरोनाका कारण फिलिपिन्समा एक वर्ष संकटकाल थप

फिलिपिन्समा मृतक संख्या चार हजार ९ सय ३० पुगेको छ

रासस-एएनआई सेप्टेम्बर १९, २०२०

मनिला । ३ असोज- फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले देशमा जारी संकटकाललाई थप एक वर्ष लम्ब्याएका छन् । कोरोनाभाइरस महामारीलाई कारण देखाउदै उनले अर्को वर्ष सन् २०२१ को सेप्टेम्बरसम्म कायम रहने गरी संकटकाल घोषणा गरेका हुन् ।

घोषणा नं. १०२१ मार्फत् उनले संकटकाल लम्ब्याएको राष्ट्रपति कार्यालयका अधिकारीहरुले जानकारी दिएका छन् । अहिले घोषणा गरिएको संकटकाल भने यही सेप्टेम्बर १३ देखि अर्को बर्ष सन् २०२१ को सेम्टेम्बर १२ तारिखसम्म लागू हुनेछ ।

यसअघि गत मध्य मार्चमा छ महिनाका लागि मात्रै संकटकाल घोषणा गरिएको थियो । तर कोरोना महामारी नियन्त्रणमा नआएकाले एक बर्षका लागि लम्ब्याइएको सरकारी अधिकारीहरुको भनाई छ ।
फिलिपिन्समा कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको तथ्यांकहरुले देखाएका छन् ।

महामारीबाट भइरहेको मानवीय क्षति न्यूनीकरणका लागि भन्दै फिलिपिन्समा संकटकाल घोषणा गरिएको हो । राष्ट्रपतिका प्रवक्ता ह्यारी रोक्युले सवै समाधिस्थलहरु यही अक्टोबर २९ देखि नोभेम्बर ४ तारिखसम्म बन्द रहने पनि जानकारी दिए ।

फिलिपिन्समा पछिल्लो २४ घण्टामा मात्रै कोरोनाभाइरसबाट तीन हजार २५७ जना सङ्क्रमित भएका छन् । योसँगै कुल सङ्क्रमितको संख्या झण्डै दुई लाख ८० हजार पुगेको छ । ती मध्ये दुई लाख आठ हजार ७९० जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।

त्यसैगरी कोरोनाभाइरसकै कारण फिलिपिन्समा अहिलेसम्म कुल मृतकको संख्या चार हजार ८३० पुगेको पनि अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू