बुधबार, वैशाख १२, २०८१
12:04 | १६:४९

बेलायतमा कोरोना संक्रमितको संख्या मे पछिकै उच्च, २७ को मृत्यु

बेलायतमा दोश्रो लहर आउंदैछः प्रधानमन्त्री

नेपाली लिङ्क सेप्टेम्बर १८, २०२०

लन्डन । बेलायतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमितको संख्या ५ महिना यताकै सबैभन्दा बढी पुगेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एन्ड सोसल केयर’ ले शुक्रबार सार्वजनिक गरेको तथ्याँक अनुसार थप ४ हजार ३ सय २२ जना नयां संक्रमित थपिएका हुन् । एक दिनमा संक्रमित हुने यो संख्या गत मे ८ तारिख यताकै सबैभन्दा बढी हो ।

बेलायतमा हालसम्म ३ लाख ८५ हजार ९ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा थप २७ जना कोरोना संक्रमितको मृत्यु भएको हेल्थ एण्ड सोसल केयरले जानकारी दिएको छ । मृतक संख्या पनि गत मे ८ पछिकै सबै भन्दा बढी हो । मृत्यु हुनेमा इंग्ल्याण्डमा २४ जना, नर्दर्न आयरल्याण्डमा दुई जना, स्कटल्याण्डमा एक र वेल्स्मा एक जना छन् ।  योसंगै बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ हजार ७ सय ३२ पुगेको छ ।

पछिल्लो समय बेलायतमा कोरोना संक्रमणको दर तीव्र रुपमा वृद्धि हुँदै गैरहेको छ । संक्रमण नियन्त्रणका लागि सरकारले गत सोमबारबाट ६ जना भन्दा बढीको सामाजिक भीडभाड गर्न नपाउने नियम कार्यान्वयनमा ल्याएको छ । अस्पताल भर्ना दरमा दोब्बर वृद्धि हुन थालेपछि सरकारले कोरोनाभाइरस महामारीको प्रतिरोध गर्न इङ्गल्याण्डमा फेरि कडा नियन्त्रणको उपाय लकडाउन (बन्दाबन्दी) गर्न सकिने समेत बताएको छ ।

राष्ट्रियरूपमा बन्दाबन्दी (लकडाउन) गर्ने चाहना नभए पनि आवश्यक परेमा उक्त विकल्पका लागि पनि तयार रहनुपर्ने स्वास्थ्यमन्त्री म्याट हयानककले बताएका छन् । कोभिड १९ महामारीका कारण युरोपमा सबैभन्दा बढी प्रभावित देश बेलायत हो ।

यसैबीच, प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतमा कोरोना भाइरसको दोश्रो लहर आइरहेको स्वीकारेका छन् । उनले संक्रमण बढिरहंदा अर्को राष्ट्रव्यापी लकडाउन लागू गर्नेबारे सरकारले सोचिरहेको पनि बताएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू