शुक्रबार, वैशाख १४, २०८१
23:55 | ०४:४०

सुरक्षा निकायका १६ सयमा कोरोना

रासस अगस्ट २८, २०२०

फाइल तस्विर

काठमाडौँ । विश्वयापी महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणको दर सुरक्षा निकायमा समेत बढिरहेको छ । मुलुकभर संक्रमणको ग्राफमा वृद्धि भइरहेका बेला हरेक गतिविधिको अग्रपंक्तिमा खटिने सुरक्षा निकाय पनि त्यसबाट अछुतो छैन ।

प्राप्त विवरणमा तीन सुरक्षा निकाय (नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी) मा एक हजार ६ सय ३३ जनामा संक्रमण देखिसकेको छ । त्यसमध्ये झण्डै ५० प्रतिशत अर्थात् ८६१ निको भएर घर फर्किएका छन् ।

सुरक्षा निकायमा गत जेठ पहिलो सातासम्म १२ जनामा मात्रै संक्रमण देखिएको थियो । त्यसपछि संक्रमण दर एक्कासी वृद्धि भएको र साउनपछि भने ह्वात्तै बढेको पाइएको छ । सबैभन्दा बढी नेपाल प्रहरीमा संक्रमित भेटिएका छन् ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले अहिलेसम्म नेपाल प्रहरीका ७ सय ९५ जनामा संक्रमण देखिएको बताए । उनका अनुसार उपत्यकामा मात्रै १६३ जना फेला परेका छन् । पाँच सयभन्दा बढी निको भएर फर्किसकेका उनले जनाए ।

सशस्त्र प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक राजु अर्यालका अनुसार बिहीबारसम्म ४ सय ३५ सशस्त्र प्रहरी संक्रमित भएका छन् । त्यसमध्ये १ सय ८९ निको भएको र अन्यको विभिन्न स्थानमा उपचार भइरहेको छ । उपत्यकामा मात्रै ७३ जनामा देखिएको उनले जानकारी दिए ।

नेपाली सेनामा आजसम्म ४ सय ३ जनामा संक्रमण देखिएको छ । अहिलेसम्म १ सय १६ जना निको भएर फर्किसकेका सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । प्राप्त विवरणअनुसार अहिलेसम्म मुलुकभर ३५ हजार ५ सय बढी संक्रमित भइसकेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू