शनिबार, वैशाख १५, २०८१
23:55 | ०४:४०

विदेशमा अलपत्र नेपालीको पाँचौ चरणको उद्धार उडान मङ्गलबारदेखि

रासस अगस्ट २४, २०२०

काठमाडौं । विदेशमा अलपत्र नेपालीको उद्धारका लागि मङ्गलबारदेखि पाँचौ चरणको उद्धार उडान हुने भएको छ । यसअघि भदौँ १ गतेदेखि चार्टर्ड उडान गर्ने घोषणा गरिएपनि होटेल क्वारेन्टिनको व्यवस्थापन हुन नसकेको भन्दै उडान स्थगन गरिएको थियो ।

कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्देशनमा उद्धार उडान रोकिएपछि सर्वत्र आलोचना भएको थियो । मन्त्रिपरिषद्को हालैको वैठकले उद्धार उडानका साथै पिसीआर सहज भएका मुलुकबाट निश्चित शर्तसहित नियमित उडान गर्ने निर्णय गरेको थियो । नियमित उडान भने भदौ १६ देखि हुनेछ । त्यसअघि उद्धार उडान शुरु हुन लागेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मङ्गलबारदेखि हुने उद्धार उडानको नयाँ तालिका सार्वजनिक गरेको छ । मन्त्रालयका सह–प्रवक्ता राजन पौडेलले उद्धार उडानको समायोजित तालिका बनाइएको जानकारी दिए । उडान तालिका अनुसार मङगलबार यूएईको सारजहाबाट एयर अरेबियाले नेपालीलाई काठमाडौं ल्याउनेछ ।

बुधबार इत्तिहाद एयरले आवुधाबी र फ्लाई दुबईले दुबईबाट यात्रु ल्याउने जनाइएको छ । यस्तै नेपालका दुई नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सको उडान तालिका बिहीबार मात्र छ । त्यस दिन नेपाल एयरलाइन्सले रियाद र हिमालयले दमामबाट यात्रु काठमाडौँ ल्याउने छ ।

सोही दिन यूरोप र अमेरिकाका यात्रुलाई टर्किस एयरले काठमाडौं ल्याउने तालिका तय गरिएको छ । एयरलाइन्सले विदेशस्थित नेपाली कूटनीतिक नियोगसँगको समन्वय र सहकार्यमा मात्रै यात्रु नेपाल ल्याउन पाउनेछन् । नेपाल आउने सबै यात्रुको अनिवार्य पिसीआर रिर्पोट हुनुपर्नेछ । सबै यात्रुले अनिवार्य सात दिन होटेल क्वारेन्टिनमा बस्नुपर्ने र खर्च उनीहरुलेनै बेहोर्नुपर्नेछ । 

टर्किस र कतार एयरले एक उडानमा मात्र सय जनासम्म बोक्न पाउने गरी अनुमति दिएको पर्यटन मन्त्रालयले बनाएको उडान तालिकामा उल्लेख छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को विवरण अनुसार भदौँ ७ गतेसम्म विदेशबाट फर्कने नेपालीको सङ्ख्या ५२ हजार २५१ छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू