मंगलबार, वैशाख ११, २०८१
13:25 | १८:१०

नेपालमा कोरोनाबाट ५ सय ८१ संक्रमित, तीनको मृत्यु

उपत्यकामा १ सय ६८ जना नयाँ संक्रमित

रासस अगस्ट १७, २०२०

काठमाडौँ । काठमाडौँ उपत्यकामा १६८ सहित देशभरमा ५८१ नयाँ सङ्क्रमित थपिएका छन् । आज थपिएका सङ्क्रमितमध्ये ४०८ पुरुष र १७३ महिला रहेका छन् ।

उपत्यकामा थपिएका सङ्क्रमितमध्ये काठमाडौँमा १३९, ललितपुरमा १५ र भक्तपुरका १४ जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता जागेश्वर गौतमले बताउनुभयो ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी ११ हजार ५२० नमूना परीक्षण भएको थियो । हालसम्म पाँच लाख २९ हजार ७२७ नमूना परीक्षण भइसकेको छ ।

देशभरमा गरी पछिल्लो २४ घण्टामा १६० जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या १७ हजार ७९५ रहेको छ । यो जम्मा सङ्क्रमितमध्ये ६४ दशमलव दुई प्रतिशत हो । देशभरमा क्वारेन्टिनमा रहेको सङ्ख्या १५ हजार १९८ रहेको छ । देशभर जम्मा नौ हजार ६३९ सक्रिय सङ्क्रमितमध्ये संस्थागत आइसोलेशनमा सात हजार ३८ र होम आइसोलेशनमा दुई हजार ६०१ रहेका छन् ।

प्रदेशअनुसार सक्रिय सङ्क्रमित प्रदेश १ मा ९१०, प्रदेश २ मा एक हजार ८६७, वाग्मती प्रदेशमा दुई हजार २१८, प्रदेश ४ मा २९७, प्रदेश ५ मा ७३५, कर्णाली प्रदेशमा २१२ र सुदूरपश्चिम प्रदेशमा ७९९ रहेका छन् ।

देशभर गरी ११३ सङ्क्रमित आइसियुमा रहेका छन् । प्रदेश १ मा एक, प्रदेश २ मा ४१, वाग्मती प्रदेशमा ५९, गण्डकी प्रदेशमा एक र प्रदेश ५ मा ११ जना आइसियुमा रहेका छन् । वाग्मती प्रदेशमा छ जना सङ्क्रमित भेण्टिलेटरमा रहेका छन् ।

नेपालमा प्रति १० लाख जनसङ्ख्यामा आजसम्म १८ हजार १४३ जनामा पिसीआर परीक्षण भएको छ भने प्रति १० लाख जनसङ्ख्यमा नै मृत्यु तीन दशमलव चार रहेको छ । आज नयाँ सङ्क्रमित फेला परेका जिल्लामा बाँके, सल्यान, बारा, पर्सा, सप्तरी, मोरङ, झापा, सुनसरी, कपिलवस्तु, काभ्रे, महोतरी, धनुषा, दैलेख, जुम्ला, मोरङ, नवलपरासी पूर्व र नवलपरासी पश्चिम छन् । त्यस्तै, रौतहट, सिन्धुपाल्चोक, कास्की, सुर्खेत, तनहुँ, अर्खाखाँची, प्युठान, दाङ, कैलाली, कञ्चनपुर, मकवानपुर, धादिङ, सर्लाही, चितवन, महोत्तरी, रुपन्देही र नुवाकोटमा पनि नयाँ सङ्क्रमित फेला पुष्टि भएको छ ।

जम्मा सङ्क्रमितमध्ये ८० प्रतिशतलाई आफैँ निको हुने र १० प्रतिशतलाई अस्पताल नै जानु परेपनि जटिल समस्या नहुने प्रवक्ता गौतमले बताउनुभयो ।

अस्पताल पुग्ने १० प्रतिशत व्यक्तिलाई सामान्य लक्षण मात्रै देखिने हुँदा क्षणीक उपचार गरे पुग्ने हुन्छ । बाँकीलाई आइसियू र भेण्टिलेटर आवश्यक पर्न सक्ने देखिएको उहाँले जानकारी दिनुभयो ।

कुनै पनि व्यक्तिले मेरो जिल्ला वा क्षेत्रमा सङक्रमित नदेखिँदा म सुरक्षित छु भन्ने सोच्नु नहुने, परीक्षणका क्रममा पोजेटिभ आउने व्यक्तिले पनि म त अब बर्बाद नै भए भन्ने सोचाइ राख्न नहुने उहाँको भनाइ छ । कुनै पनि व्यक्ति अत्यावश्यक कामका लागि बाहेक घर बाहिर निस्कन नहुने उहाँको सुझाव छ । उहाँले भन्नुभयो, “निस्कनै पर्दा माक्स लगाउनुपर्छ र अरु व्यक्तिसँग कम्तीमा दुई मिटरको दूरी राख्नुपर्छ ।”

थप तीनको मृत्यु

कोभिडका कारण थप तीन जनाको मृत्यु भएसँगै देशभरमा सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १०७ पुगेको छ । पछिल्लो विवरणअनुसार मृत्यु हुनेमा रौतहटका ३२ वर्षीय पुरुष, काठमाडौँका ५८ वर्षीय महिला र मोरङका ६० वर्षीय पुरुष छन् ।

पाँच जिल्लामा सङ्क्रमित ५०० बढी, पाँच जिल्लामा शून्य

आजसम्म देशभरका ७७ जिल्लामध्ये पाँच जिल्लामा सङ्क्रमित ५०० बढी छन् भने पाँच जिल्लामा शून्य छ ।

५०० भन्दा बढी सङ्क्रमित रहेका जिल्लाहरुमा मोरङ, पर्सा, रौतहट, महोतरी र काठमाडौँ रहेका छन् । त्यस्तै, हाल सङक्रमितको सङ्ख्या शून्य रहेका जिल्लामा सङ्खुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला रहेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू