बिहीबार, कार्तिक ६, २०७७
22:40 | ०३:२५

भारतमा कोरोना संक्रमितमध्ये ७१.१७ प्रतिशत निको भए

रासस-पिटिआई अगस्ट १४, २०२०

नयाँदिल्ली । ३० साउन- भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका कुल सङ्क्रमित मध्ये ७१.१७ सङ्क्रमितहरु सङ्क्रमणमुक्त भएका छन् । भारतमा शुक्रबारसम्म कुल सङ्क्रमितको संख्या २४ लाख नाघेको छ ।

केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयकाअनुसार देशभरी अहिले १७ लाख भन्दा बढी सङ्क्रमितहरु सङ्क्रमणमुक्त भएका छन् । उनीहरुका अनुसार भारतमा अहिलेसम्म १७ लाख ५१ हजार ५५५ जना सङ्क्रमण मुक्त भएका हुन् ।

मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतमा एक हजार ७०० जनाको मृत्यु भएको छ भने संख्या ६४ हजार ५५३ जना सङ्क्रमित भएका छन् ।

त्यसैगरी कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरु मध्ये १.९५ प्रतिशतको मात्रै मृत्यु हुने गरेको मन्त्रालयले जनाएको छ ।

भारतमा अहिलेपनि झण्डै छ लाख ६० हजार मानिस सङ्क्रमित अवस्थामै रहेका छन् । यो संख्या कुल सङ्क्रमित मध्येको २६.८८ प्रतिशत हो ।

भारतमा कुल सङ्क्रमितको संख्या २० लाख नाघेको यही अगस्ट ७ मा हो । सरकारी अधिकारीहरुका अनुसार भारतमा अहिलेसम्म दुई करोड ७६ लाख मानिसको कोरोना परीक्षण गरिएको छ । ती मध्ये आठ लाख ४८ हजार ७२८ जनाको बिहीबार मात्रै परीक्षण गरिएको हो । यो संख्या एकैदिनमा परीक्षण गरिएकाहरुको संख्या मध्ये अहिलेसम्मकै सवैभन्दा धेरै हो ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण मृत्यु भएका कुल एक हजार ७०० जना मध्ये महाराष्ट्र प्रदेशका मात्रै सवैभन्दा धेरै ४१३ रहेको छ । त्यसैगरी तमिलनाडुमा ११९, कर्नाटकमा १०३, आन्ध्रप्रदेशमा ८२, पश्चिम बंगालमा ५६, उत्तर प्रदेशमा ५०, पञ्जावमा ३१, गुजरातमा, १८ जना सङ्क्रमितको मृत्यु भएको छ ।

अधिकारीहरुका अनुसार मध्य प्रदेशमा १७, दिल्ली राज्यमा १४, झारखण्डमा १२, जम्मु काश्मिर र राजस्थानमा ११-११ जना र बिहारमा दश जनाको पछिल्लो २४ घण्टामा कोरोनाका कारण मृत्यु भएको छ । त्योभन्दा थोरै संख्यामा देशका अन्य प्रदेशहरुमा पनि मृत्युको विवरणहरु प्राप्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

भारतमा अहिलेसम्म कोरोनाका कारण ४८ हजार ४० जनाको मृत्यु भएको छ । ती मध्ये सवैभन्दा धेरै महाराष्ट्र प्रदेशका कुल १९ हजार ६३ जनाको मृत्यु भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू