बिहीबार, वैशाख ६, २०८१
19:09 | २३:५४

नेपालमा थप ६ सय ३८ संक्रमित

उपत्यकामा १३४ संक्रमित

रासस अगस्ट ११, २०२०

काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६३८ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ४६२ जनामा गरेको पिसिआर परीक्षणबाट ६३८ नयाँ सङ्क्रमित देखिएका हुन् । हालसम्म चार लाख ६२ हजार ६९८ जनाको पिसिआर परीक्षण भएको जनाइएको छ ।

काठमाडौं उपत्यकामा १३४ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा उपत्यकाका ३ जिल्लामा १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जानकारी दिएको हो ।

प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौंमा ११०, ललितपुरमा १६ र भक्तपुरमा ८ जनामा संक्रमण पुष्टि भएको हो ।

कोभिड–१९ बाट थप चारको मृत्यु

कोभिड–१९ बाट पछिल्लो २४ घण्टामा थप चार जनाको मृत्यु भएको छ । मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले धनुषा, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकका गरी थप चारको मृत्यु भएको जानकारी दिनुभयो । मृत्यु हुनेमा धनुषाका ५० र ६० वर्षीय पुरुष रहेका छन् ।

त्यस्तै काभ्रेका ५० वर्षीया महिला तथा सिन्धुपाल्चोकका ८४ वर्षीय पुरुष छन् । पछिल्लो २४ घण्टामा १७१ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । यससँगै हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या १६ हजार ६६४ पुगेको छ ।

आज देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार २०१ रहेको छ । अहिले होम आइसोलेसनमा रहेका बिरामीको सङ्ख्या २२४ रहेको छ । आइसियुमा ८५ सङ्क्रमित छन् । यीमध्ये तीन जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

देशभर आइसियु श्यया जम्मा ११ हजार ३४ र भेन्टिलेटर जम्मा ५७६ रहेको मन्त्रालयले जनाएको छ ।

यसैबीच चौधरी पाउण्डेशनले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई आठ भेन्टिलेटर सहयोग प्रदान गरेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू