शुक्रबार, चैत १६, २०८०
20:43 | ०२:२८

कोरोनाबाट थप चारको मृत्यु, ३३८ नयाँ सङ्क्रमित

उपत्यकामा ४४ जनामा सङ्क्रमण पुष्टि

रासस अगस्ट १०, २०२०
काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप चार जनाको कोभिड–१९ सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा दुई महिला र दुई पुरुष छन् । बाँकेको कोहलपुर नगरपालिका–२ का ७० वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा आइतबार मृत्यु भएको हो ।
पर्साको देवयानी गाउँपालिका १५ का ४५ वर्षीय महिलाको पनि कोभिड सङ्क्रमणका कारण आइतबार नै नारायणी अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले जानकारी दिए । त्यसैगरी काठमाडौँ महानगरपालिका–१० मध्यबानेश्वर बस्ने ७६ वर्षीय पुरुषको आज मेडिकेयर अस्पतालमा र कीर्तिपुर नगरपालिका ट्याङ्लाफाँट बस्ने ६४ वर्षीय पुरुषको पनि कोरोना भाइरसका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ७९ पुगेको छ ।
उपत्यकामा ४४ सङ्क्रमित भेटिए
मुलुकका विभिन्न प्रयोगशालामा गरिएको आठ हजार ४३४ नमूना परीक्षणमा आज कुल ३३८ नयाँ सङ्क्रमित थपिएको मन्त्रालयले जनाएको छ । सोमबार सबैभन्दा बढी बाँकेमा ६३ जना नयाँ सङ्क्रमित थपिएका छन् ।
यस्तै काठमाडौँ उपत्यकामा ४४ जनामा सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँमा ३६, ललितपुरमा चार र भक्तपुरमा चार जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
रौतहटमा ३१, मकवानपुरमा २३, पर्सामा २२, सर्लाहीमा २१, दैलेखमा १७, मोरङ र प्युठानमा १५-१५, धनुषामा १३, कपिलवस्तुमा ११, कैलाली र सल्यानमा सात-सात, सिन्धुलीमा छ, दाङमा पाँच, नुवाकोटमा चार, महोत्तरी, बारा र गोरखामा तीन-तीन, खोटाङ, तनहुँ, बर्दिया र नवलपरासी पूर्वमा दुई-दुई तथा झापा, सिन्धुपाल्चोक, अछाम, अर्घाखाँची, बागलुङ, चितवन, पाल्पा, रामेछाप, स्याङ्जा, रुपन्देही, रोल्पा, सुर्खेत, बैतडी र बझाङमा एक-एक सङ्क्रमित थपिएका मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घन्टामा १४० जना कोरोना जितेर डिस्चार्ज भएका छन् । यससँगै हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या १६ हजार ४९३ पुगेको छ । जुन ७०.७ प्रतिशत हो । धनकुटा, सङ्खुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा कोरोनाका सक्रिय सङ्क्रमित छैनन् ।
देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या छ हजार ७३८ रहेको छ । पर्सा, रौटहट, महोत्तरी र काठमाडौँमा ५०० बढी सक्रिय सङ्क्रमित उपचाररत छन् । क्वारेन्टिमा रहनेको सङ्ख्या १० हजार ७५९ छ । विश्वभर आजसम्म दुई करोड २६ लाख ४३४ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।
यस्तै, सात लाख ३४ हजार २८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । कोरोनालाई जितेर निको हुनेको सङ्ख्या एक करोड २९ हजार ७८ रहेको छ ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू