मंगलबार, असोज ६, २०७७
04:32 | ०९:१७

चित्त, चिन्ता र चिता

डा. बच्चु कैलाश कैनी अगस्ट ४, २०२०

डा. बच्चुकैलाश कैनी

मानिसको चित्त अर्थात मनको बारेमा धेरै कुराहरु लेखिएको छ । मान्छे छ र चित्तको अस्तित्व छ । अर्थात, चित्त छ र मान्छेको अस्तित्व छ । मानिसले कल्पना गर्ने, सोच्ने, काम गर्न प्रेरित वा निरुत्साहित गर्ने, खोज वा अनुसन्धान गर्न मद्धत गर्ने, कुनै सही वा गलत निर्णय गर्न सहयोग गर्ने चित्तले हो । मानिसको चित्तले जे सोच्यो जस्तो सोच्यो, उस्तै काम गर्ने हो र परिणाम पनि त्यस्तै आउने हो ।

आफ्नो चित्त सानो वा ठूलो बनाउने आफैंले हो । आफ्नो चित्तलाई उदार बनाउने वा अनुदार बनाउने पनि आफैंले हो । तर, यसका लागि अरुको भूमिका सहयोगी हुन भने सक्छ । जस्तै, साथीभाईको संगत, पारिवारिक वातावरण, समाजको उत्प्रेरणा, शिक्षादीक्षा आदि धेरै कुराले मानिसको मनलाई कस्तो बनाउने भन्ने कुरा धेरै हदसम्म निर्भर गर्छ ।

मानिसको नितान्त आफ्नो कुरा केही छ भने त्यो मानिसको चित्त वा मन हो। एउटा मानिसको आफ्नो चित्त अरुले पढ्न, बुझ्न र देख्न सक्दैनन् । मान्छेले आफ्नो काबुमा राख्नु पर्ने कुरा पनि आफ्नो चित्त हो । जसको मन आफ्नो बसमा छैन उसले आफ्नो जीवन सही ढंगले चलाउन, प्रगति गर्न र सही र गलत छुट्टाउन सक्दैन् ।

मानिसको चित्त दुख्यो भने उसलाई चिन्ता लाग्छ। चिन्ताले मानिसको चित्तलाई बिगार्छ । मनमा चिन्ता हुनु भनेको मन दुःखी हुनु हो । मानिसलाई चिन्ता धेरै कुराले पर्न सक्छ । जस्तै चिन्ता गर्नु भनेको कुनै कामको परिणाम नकारात्मक वा खराब आएर वा आउंछ भनेर दुःखी हुनु हो । मन दुःखी हुनु, अशान्त हुनु, मनमा बेचैनी हुनु, छटपटी हुनु र मानसिक रुपमा तनाव हुनु चिन्ताका लक्षण हुन् । जति धेरै चिन्ता गरयो, उति मानिसको शारीरिक र मानसिक स्वास्थ्य खराब हुन्छ । जति मानिसको शारीरिक र मानसिक स्वास्थ्य खराब हुन्छ, मानिस उति धेरै चिताको नजिक हुन्छ ।

चिन्ता गरेर बस्दैमा भोलिको सपना साकार हुने होइन् । चिन्ताले मानिसको आजको खुशी खोसेर लैजान्छ र मानिसको भविष्य पनि बिगार्छ । चिन्ताले मानिसको सोच्ने र निर्णय गर्ने शक्ति बिगार्छ । चिन्ताले मानिसको मन कमजोर बनाउंछ ।

मानिस स्वाभाविक रुपमा सक्रिय, रचनात्मक, सामाजिक र विवेकशील प्राणी हो । यही गुणले नै मानिसलाई धेरै सोच्ने, तर्क गर्ने र सक्रिय रहने बनाउंछ । त्यसैले सोच्दा, तर्क गर्दा र सक्रिय रहंदा मानिसको मनमा चिन्ता आउनु स्वाभाविक पनि हो । मानिसले चाहंदैमा चिन्ता पूर्ण रुपमा हट्ने होइन् । चिन्ता कम गर्न भने सकिन्छ । सुःख र दुःख, हांसो र चिन्ता मानिसको जीवनको दुई पाटा हुन् ।

ध्यान र योगको अभ्यास अनि आध्यात्मिक चिन्तन र मननले मानिसको मन बसमा राख्न र चिन्ता कम गर्न मद्धत पुग्छ । योगले शारीरिक ब्यायाममार्फत शरीर स्वस्थ बनाउन र मानसिक रुपमा पनि मानिसलाई तन्दुरुस्त राख्न मद्धत गर्छ । तनावले मनमा चिन्ता पैदा गर्छ । ध्यानको अभ्यास गर्ने हो तनाव कम गर्न सकिन्छ । त्यस्तै मानिसको चित्तलाई काबुमा राख्न अरु पनि उपायहरु छन् जुन बैज्ञानिक अनुसन्धानबाट प्रमाणित भइसकेको कुरा हो ।

समग्रमा भन्ने हो भने चित्तलाई बहकाएर वा सानो बनाएर चिन्ता गर्ने हो भने मानिस छिट्टै चितामा पुग्छ। यो स्थितिमा पुग्न बाहिरी कुरा सहायक भए पनि मुख्य रुपमा मानिसको आफ्नै कारणले यो सब हुन्छ । यो धर्तीमा जन्मे पछि मानिस आफ्नो जीवनको योजनाकार, चालक र नियन्त्रक स्वयम् आफैं हो । जसले उपलब्ध श्रोत र साधनको उपयोग गर्दै आफ्नो जीवनमा खुशी हुन राम्रो योजना बनाउंछ, मेहेनत गर्छ र जीवन सफल बनाउंछ, उसैको जीवन सार्थक र खुशी हुन्छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू