लन्डन दूतावासमा बालबालिकाले गरे वृक्षारोपण (फोटो फिचर)


लन्डन । सप्ताहन्त प्रायः सुनसान रहने लन्डनस्थित नेपाली राजदूतावास शनिबार भने निकै व्यस्त रह्यो । त्यहां व्यापार लगानी सम्मेलन थिएन, न त राष्ट्रिय दिवस भइरहेको थियो । भूतपूर्व गोर्खाहरु आफ्ना माग सम्बोधनका लागि दूतावास पुगेका पनि होइनन् ।
बरु एउटा विल्कुल कार्यक्रम भइरहेको थियो ‘वान चाइल्ड, वान प्लान्टः अ डे एट द नेपाल एम्बेसी’ ।
यो के भने बेलायतका विभिन्न विद्यालयमा अध्ययनरत ५ देखि १५ वर्ष उमेर समूहका नेपालीमूलका बालबालिका लक्षित दूतावास परिसरमा फूल तथा बिरुवा रोप्ने कार्यक्रम थियो ।
आफ्ना अभिभावकका साथ आएका करिब तीन दर्जन बालबालिकाले दूतावास कम्पाउण्डमा लाली गुरांस, गुलाब, हाइड्रेन्जिया, जेरेनियम, बेगोनिया, चेरी जस्ता सिजनल र दीर्घकाल रहने फूल, विरुवा रोपे, मलजल गरे र पानी हाले । वृक्षारोपण भइरहंदा बालबालिका निकै रमाए ।
संयुक्त अधिराज्य (बेलायत) मा रहेका गैरआवासीय नेपालीका सन्ततिहरूलाई नेपालसँग आवद्ध गराउने उद्देश्यसहित दूतावासले यस्तो पृथक कन्सेप्ट ल्याएको थियो । नेपाली संस्कृति र मूल्य मान्यताप्रति सचेत गराउने तथा वातावरणीय चेतना विकास गराउने उद्देश्य पनि कार्यक्रमको थियो ।
‘बेलायतमै जन्मे हुर्किएका बालबालिकालाई दूतावास देखाउने, उनीहरुलाई नेपालप्रति लगाव अभिवृद्धि गर्ने र उनीहरुको दिमागमा नेपाल मेरो मातृभूमि हो भन्ने छाप छोड्न पनि यस कार्यक्रम गरिएको हो’, कार्यवाहक राजदूत विपिन दुवाडीले भने, ‘यहांका बालबालिकाले आफ्नो ठाउं, भाषा बिर्सेलान् कि भन्ने चिन्ता छ । नेपालप्रति माया र कनेक्सन रहिरहोस् भन्ने हाम्रो चाहना हो ।’
दोश्रो पुस्तालाई नेपाली सभ्यता, चाडपर्व र कला संस्कृतिबारे सचेतना जगाउन अपरिहार्य रहेको दुवाडीले बताए ।
आफ्ना छोराछोरी लिएर दूतावास आएका एकजना अभिभावक सुरज पौडेलले कार्यक्रम निकै प्रभावकारी र रचनात्मक लागेको बताए । यसअघि यस्तो कार्यक्रम कहिल्यै नदेखेको बताउंदै उनले बालबालिकालाई वर्षौंसम्म दूतावासमा आफूले रोपेका विरुवाले जोडिरहने बताए ।
फूल विरुवा रोप्नुअघि आयोजित औपचारिक कार्यक्रममा दूतावासले हरेक बालबालिकालाई खादाले सम्मान गरेको थियो ।
कार्यक्रमको सुरुमा बालबालिकाले ‘ओम’ गणेश बन्दना, सरस्वती बन्दना, गायत्री मन्त्र पाठ गर्नुका साथै नेपालको राष्ट्रिय गान गाएका थिए। बिरुवा रोप्ने कार्यक्रममा बालबालिकालाई तिनका अभिभावकले पनि सघाएका थिए।
कार्यक्रममा बालबालिका तथा अभिभावक सहित झन्डै १०० जनाको सहभागिता थियो।
दूतावासका द्वितिय सचिव संजोग राईले सञ्चालन गरेको उक्त कार्यक्रममा सैनिक सहचारी ब्रिगेडियर जनरल अनुप शाह लगायतको उपस्थिति थियो ।
तस्विर- शिव भण्डारी










