‘भिक्टोरिया क्रस’ प्राप्त १३ भूतपूर्व गोर्खा सैनिकको सम्झनामा पदयात्रा


फाइल तस्विर
लन्डन– आगामी ७ जुन २०२६ आइतबार आसफोर्डस्थित ग्रेट चार्ट प्लेइङ्ग फिल्ड्समा गोर्खा वाक (गोर्खा पदयात्रा) गर्ने तयारी भएको छ।
गोर्खा पिस फाउन्डेशनद्वारा आयोजना गर्न लागिएको १३ औं वार्षिक गोर्खा वाकमा यो वर्ष झन्डै २ हजार जनाको सहभागिता हुने अपेक्षा आयोजकले गरेका छन्।
फाउन्डेसनका संस्थापक अध्यक्ष भीम तुम्वाहाम्फेले वीरता र साहसको सम्मान गर्दै ब्रिटिश सेनाको सर्वोच्च पदक ‘भिक्टोरिया क्रस’ प्राप्त १३ जना भूतपूर्व गोर्खा सैनिकहरुको सम्झनामा उक्त पदयात्रा आयोजना गरिंदै आएको बताए ।
‘हाम्रा नानी छोराछोरीले इतिहास बिर्सदै गएं । त्यसैले इतिहासलाई जीवित राख्नु पर्छ भन्ने हिसाबले गोर्खा वाक गर्दै आएका छौं । यसबाट मानसिक र शारीरिक स्वास्थ्य लाभ त हुने नै भयो, यो कार्यक्रमबाट बेलायतमा बसोबास गरिरहेका नेपाली समुदाय र अन्य समुदायबीच समझदारी र सहकार्यमा मद्दत पुग्ने हाम्रो अपेक्षा छ’, उनले भने ।
अध्यक्ष तुम्वाहाम्फेका अनुसार पदयात्राका लागि २ रुट तय गरिएको छ। पहिलो रुट साढे ६ किलोमिटर लामो हुनेछ भने दोश्रो रुट १३ किमी । ‘हामीले एक भीसी बराबर एक किलोमिटर राखेका हौँ’, उनले प्रष्टयाए ।
बेलायतमा बसोबास गरिरहेका भूतपूर्व गोर्खा सैनिक तथा तिनका परिवारलाई मद्दत गर्ने उद्देश्यले सन् २०१३ मा स्थापना गरिएको गोर्खा पिस फाउन्डेसनले अहिले वर्षेनी नेपालका १६-१७ वटा स्कुललाई सहयोग गर्दै आएको छ ।
‘हामीले नेपालमा विद्यालय भवन निर्माण, खानेपानी तथा शिक्षकको तलबमा पनि सहयोग गर्दै आएको छौं । साथै, बेलायतमा आफ्नै जग्गा किनेर बहुउद्देश्यीय सभा कक्ष सहितको आफ्नै भवन बनाउने पनि हाम्रो योजना छ,’ अध्यक्ष तुम्वाहाम्फेले भने ।
७ जुनमा आयोजना गर्न लागिएको गोर्खा वाकका विजेताका लागि रनिङ्ग शिल्ड लगायत अन्य पुरष्कार पनि व्यवस्था गरिएको छ । लन्डन र आशफोर्डमा कार्यालय रहेको ए स्टार मोर्गेजेज उक्त पदयात्राको प्रमुख प्रायोजक छ ।
‘गोर्खा पिस फाउन्डेसनले आयोजना गर्ने गोर्खा वाक २०२६ कार्यक्रममा ए स्टार मोर्गेजेज पनि सहयात्री बन्न पाएकोमा हामी गर्व महसुस गरिरहेका छौँ। यस कार्यक्रममा तपाईँहरू सबैको उपस्थितिले यसलाई परिष्कृत र थप उचाइमा लैजाने छ भन्ने हामीलाई लागेको छ’, ए स्टार फाइनान्सियल सलुशन्स तथा ए स्टार मोर्गेजेजका प्रबन्ध निर्देशक मीन दर्लामीले भने ।
‘तसर्थ सम्पूर्ण नेपालीहरूलाई कार्यक्रममा उपस्थित भएर सहयोग गरिदिनु हुन हामी आह्वान गर्दछौँ’, उनले भने ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


